कलिउडखबर, फागुन २८ गते । हिजोआज भौतिक सुखका लागि आ आफ्नो कर्तव्य भुलेर विदेश वा परिवारबाट टाढा बस्ने संस्कारका रुपमा विकास भइरहेको छ । तर मानवलाई भौतिक होइन आत्मिक सुख हुनु पर्छ । हो यस्तै बुझेर सबै कुराले सुविधा सम्पन्न र आलिसान बसाई त्यागेर नेपाली अभिनेत्री गौरी मल्ल आज बुधबार स्वदेश फर्किंदै छिन् ।
आफ्नी जन्मदाता आमा विरामी भएको खबरले सबैको आकर्षण र सपनाको संसारका रुपमा रहेको अमेरिकाले उनलाई अब राख्न सकेन र जन्मदाताको काखसँगै मातृभूमि फर्किने अभिनेत्री मल्लले निधो गरेकी हुन् । आमा विरामी भएको खबरले मल्ललाई भौतिक सुखले शान्ति र चैन दिन नसकेपछि आजै नेपाल फर्किदै छिन् । करिव चारवर्षसम्मको अमेरिका बसाईपछि अभिनेत्री मल्ल सँधैका लागि आज नेपाल फर्किन लागेकी हुन् । न्यूयोर्कमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै गौरीले आमा बिरामी भएकाले नेपाल फर्कन लागेको बताउँदै अब नेपालमै बस्ने जानकारी दिइन् ।
‘डाक्टरले तपाईंकी आमा कुन् संयोगले बाँचिरहनुभएको छ, हामी आश्चर्यमा छौं भनिरहेका छन्, बुबाआमाका अगाडि संसारको कुनैपनि सुखद अर्थहीन छ’, गौरीले भनिन्, ‘बाबाआमा छाडेर जस्तोसुकै सुख होस् मलाई चाहिन्न, मेरो खुशी मेरो बुबाआमा नै हो, त्यसैले म नेपाल जाँदैछु ।’ सायद गौरीका यी शब्दले आफ्ना बृद्ध बाबु आमा र परिवारबाट टाढिएकाहरुलाई छुनु आवश्यक छ । नेपालको पछिल्लो यो अवस्था यथार्थ तथा तितो सत्य हो ।
गहभरी आँसु पार्दै गौरीले आमा बिरामी भएदेखि एकएक सेकेन्ड रुँदै बसेको बताइन् । ‘उहाँको छिट्टै अप्रेसन गर्नुपर्ने छ, बाँच्ने चान्स आधाआधा रहेको डाक्टरले बताएका छन्’, गौरीले भनिन्, ‘बुढेसकालमा आफ्नो सन्तान नजिकै होस् भन्ने इच्छा सबैको हुन्छ, उहाँले मेरो अनुपस्थितीबिना अप्रेसन नगर्ने भन्नुभएको छ, बुबा आमा नै ठूलो भएकाले नेपाल जाँदैछु ।’
नेपाल फर्केपछि चलचित्रमै पुनरागमन गर्ने गौरीले बताइन् । उनले भनिन् ‘चलचित्र निर्माणका लागि उनीहरुले मलाई पाँच वर्षदेखि कुरेर बसेका छन्, चलचित्रको नाम गौरी हो ।’गौरीमा मूख्य पात्रको रुपमा उनै छिन् । ‘कथा पनि एकदमै राम्रो छ, त्यो मेरो ड्रिम प्रोजेक्ट हो, म त्यो प्रोजेक्ट छाड्न चाहन्न, पारिवारिक समस्या समाधान भैसकेपछि त्यो प्रोजेक्टमा लाग्छु ।’ गौरीले भनिन्, ‘तपाईंहरुसँग अमेरिकामै भेट्ने संयोग लेखेको छ भने केही वर्षपछि फेरि भेट होला तर, यतिबेला मेरो पहिलो प्राथमिकता बुबाआमा हो ।’ विदाईमा बोल्दै गौरीले आफ्नी आमाको स्वास्थ्यको प्रार्थना गरिदिन आग्रह समेत गरेकी थिइन् ।