काठमाडौं-माघ ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भनिएको निखिल उप्रेती अभिनित चलचित्र ‘पिंजडा व्याक अगेन’को प्रदर्शन मितिमा फेरबदल भएको छ । चलचित्र निर्माता संघले होल्ड ओभर कायम राख्न प्रदर्शनरत चलचित्रलाई कम्तिमा एक हप्ता हलमा अवसर दिने निर्णयसहित अघि ल्याएको मुद्धालाई आत्मसाथ गर्दै ‘पिंजडा व्याक अगेन’ राजधानी आसपासका हलमा अब माघ ५ गते मात्रै प्रदर्शन हुने भएको छ भने राजधानी बाहिरका हलहरुमा पुर्व निर्धारित मिति मै रिलिज हुने छ ।
राजधानीमा बिके फिल्मस् र मोफसलमा एफडी कम्पनिले वितरणको जिम्मा लिएको चलचित्रलाई हिमाल के सी ले निर्देशन गरेका छन् भने चलचित्रमा निखिल उप्रेती, सारा सिपार्ली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
ओम शाही भक्त मुभिज र ओम साइ मौलाकालिका पिक्चर्सले संयुक्त रुपमा निर्माण गरेको ‘पिंजडा व्याक अगेन’को कथा मौनता श्रेष्ठले लेखेका हुन् । सुशान्त श्रेष्ठ र बसन्त शर्मा कार्यकारी निर्माता रहेको चलचित्रका प्रस्तुतकर्ता श्रीराम बराल हुन् । सौरभ लामाले खिचेको चलचित्रमा रोहित पुरी, गोविन्द गैरे र चन्द्र बहादुर क्षेत्रीको लगानी रहेको छ ।