नेपाली गीतसंगीत क्षेत्रको प्रतिष्ठित सम्मान ‘इमेज अवार्ड’ पुनः आयोजना हुने भएको छ । केही समयको अन्तरालपछि हुन लागेको अवार्डको नयाँ संस्करणमा सहभागी हुन इच्छुक सर्जक तथा कलाकारका लागि आगामी शुक्रबारदेखि आवेदन खुला गरिने भएको छ ।
‘संगीत तपाईंको जीवनको’ भन्ने नारासहित इमेज ग्रुप अफ मिडियाले आयोजना गर्दै आएको इमेज अवार्ड नेपाली सांगीतिक क्षेत्रका सर्जक तथा कलाकारको योगदानको कदर गर्ने महत्वपूर्ण मञ्चका रूपमा परिचित छ । यसले गीतकार, संगीतकार, गायक–गायिका, म्युजिक भिडियो निर्देशक तथा कलाकारलाई सम्मान गर्नुका साथै नयाँ प्रतिभालाई अघि बढ्न प्रोत्साहित गर्दै आएको छ ।
दुई दशकभन्दा लामो इतिहास बोकेको इमेज अवार्ड नेपाली संगीत क्षेत्रका पुराना र प्रतिष्ठित अवार्डमध्ये एक हो । यसका अघिल्ला संस्करणमा गीत, संगीत, रचना, म्युजिक भिडियो र पब्लिक च्वाइस लगायतका विभिन्न विधामा उत्कृष्ट सर्जक तथा कलाकारलाई सम्मानित गरिँदै आएको थियो ।
अवार्डको विशेष आकर्षणका रूपमा रहेको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’मार्फत नेपाली गीतसंगीत तथा कला क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरिँदै आएको छ । यो सम्मानबाट स्वरकिन्नरी तारादेवी, वरिष्ठ संगीतकार अम्बर गुरुङ, नातिकाजी, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, दीप श्रेष्ठ, शम्भुजित बास्कोटा र प्रकाश गुरुङलगायतका स्रष्टा तथा कलाकार सम्मानित भइसकेका छन् ।
इमेज अवार्डको २२औँ संस्करण २०७९ साल असोज ३ गते काठमाडौंस्थित सोल्टी होटलमा आयोजना गरिएको थियो । उक्त समारोहमा नेपाली हास्यव्यंग्य तथा संगीत क्षेत्रका अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । सो संस्करणमा विभिन्न १५ विधामा उत्कृष्ट कलाकार तथा सर्जकलाई पुरस्कृत गरिएको थियो ।
पछिल्लो समय नेपाली गीतसंगीतको सिर्जना, उत्पादन र वितरणमा डिजिटल माध्यमको प्रभाव बढ्दै गएको छ । यस्तो अवस्थामा इमेज अवार्डको पुनरागमनलाई सांगीतिक क्षेत्रका लागि महत्वपूर्ण रूपमा हेरिएको छ । नयाँ संस्करणले स्थापित स्रष्टाको योगदानलाई सम्मान गर्नुका साथै नयाँ पुस्ताका प्रतिभालाई पहिचान गर्ने र नेपाली संगीत क्षेत्रका विभिन्न पक्षलाई एउटै मञ्चमा जोड्ने अपेक्षा गरिएको छ ।
आवेदन प्रक्रिया शुक्रबारदेखि सुरु हुने भए पनि अवार्डको आयोजना मिति तथा अन्य विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd