निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘श्रीमान् श्रीमती’को छायांकन सम्पन्न भएको छ । निर्माण टिमले तीन सातामै चलचित्रको सम्पूर्ण छायांकन सकेको हो ।
काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको गीतको छायांकनसमेत पूरा भइसकेको छ । पारिवारिक कथावस्तुमा आधारित यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा देखिनेछन् । चलचित्रमा लक्ष्मी गिरी र सुवास गजुरेलको पनि अभिनय रहेको छ ।
पटकथा प्रडक्सन र टुकी आर्ट्सको प्रस्तुति रहेको चलचित्रका निर्माता खगेन्द्र लामिछाने र दीपेन्द्र के खनाल हुन् । चलचित्रको लेखन निर्देशक खनाल स्वयंले गरेका छन् भने पटकथा तथा संवाद दीपेन्द्र के खनाल र महेश दवाडीले संयुक्त रूपमा तयार पारेका हुन् । करण श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रको छायांकन कृष्णबहादुर थापाले गरेका छन् ।
गम्भीर कथावस्तुमा आधारित चलचित्र निर्माणका लागि परिचित निर्देशक खनालले ‘श्रीमान् श्रीमती’ पूर्ण पारिवारिक चलचित्र भएको बताएका छन् । नेपाली दर्शकको रुचि र स्वादलाई ध्यानमा राखेर चलचित्र निर्माण गरिएको भए पनि बजारको प्रवृत्तिलाई मात्र पछ्याएर काम नगरेको उनको भनाइ छ ।
आम नेपाली परिवारमा दैनिकजसो घट्ने घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक खनालले बताएका छन् । उनका अनुसार श्रीमान् र श्रीमतीबीचको सम्बन्धमा आउने उतारचढाव चलचित्रको मुख्य कथावस्तु हो । पारिवारिक जीवनका यथार्थपरक घटनालाई पर्दामा उतारिएकाले चलचित्र दर्शकको रोजाइमा पर्ने उनको विश्वास छ ।
छायांकन सम्पन्न भएसँगै चलचित्रको प्रदर्शनलाई लिएर दर्शकमाझ चासो बढ्ने अपेक्षा गरिएको छ । यद्यपि, निर्माण टिमले चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिसकेको छैन ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd