असोज ३० गतेदेखि प्रदर्शनमा आउने नेपाली फिल्म ‘आ बाट आमा २’ ले प्यारेन्टल गाइडेन्स (पीजी) सर्टिफिकेट पाएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई पीजी प्रमाणपत्र दिएसँगै १६ वर्षभन्दा कम उमेरका दर्शकले फिल्म हेर्न जाँदा अभिभावकलाई साथमा लैजानुपर्ने भएको छ ।
निर्देशक तथा लेखक चन्द्र पन्तका अनुसार फिल्म अत्यधिक भावनात्मक भएकाले पीजी सर्टिफिकेट दिइएको हो । पारिवारिक प्रेम, सम्बन्धको मिठास तथा आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई मुख्य विषय बनाइएको फिल्मको अग्रिम टिकट बुकिङसमेत खुलिसकेको छ ।
फिल्ममा विपना थापा, पल शाह, मलिका महत, रिश्ता गुरुङ, निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का र दिलीप अखेडालगायत कलाकारको अभिनय रहेको छ ।
फिल्मका गीत, टिजर तथा ट्रेलरले यसअघि नै दर्शकमाझ राम्रो चर्चा बटुलिसकेका छन् । रोशन भट्ट र चन्द्र पन्तले संयुक्त रूपमा लेखन गरेको फिल्मको संवाद रोशन भट्टले तयार पारेका हुन् ।
पारिवारिक भावना र आमासँग सन्तानको सम्बन्धलाई केन्द्रमा राखिएको ‘आ बाट आमा २’ ले प्रदर्शनपछि दर्शकको कस्तो प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd