logo

२०८२ असोज ३० बिहिबार

logo
  • बिहिबार, ३० असोज २०८२
  • ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा

    ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा

    52
    SHARES
    ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा

    अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताएका छन् ।

    आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा चलचित्र ‘वरिष्ठ बलराम’मा रहेको उनले बताए ।

    ‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुन् भने उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुन् ।

    मान्छेको भित्री रुप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ भनाउन र देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने उनी बताउँछन् । “मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो,” दयाहाङ भन्छन्, “यो चलचित्रमा यही कुरा छ । मेरो चरित्र पनि त्यही हो ।”

    आफ्नो चरित्र र चाहनामा टक्कर दिँदै अर्को पात्र आफू वरिष्ठ देखिने लोभमा हुने संघर्ष चलचित्रमा रहेको उनी बताउँछन् ।

    अर्का अभिनेता विजय बरालले चलचित्र ‘वरिष्ठ बलराम’ सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको बताउँछन् । व्यक्तिमा रहेको सोचबीचको टकराब सिनेमाको मुख्य विषय भएको उनले बताएका छन् ।

    ‘वरिष्ठ बलराम’का मुख्य दुई पात्र दयाहाङ र विजयको टकराबमा आफू बले पात्रका रूपमा रहेको उनले बताएका छन् ।

    “सिनेमाको नाम कसको नाममा रह्यो, कसको नाम बलराम हो भन्ने सिनेमा रिलिज भएपछि र त्यसअघि ट्रेलरमा केही कुरा थाहा होला,” विजय भन्छन्, “तर, चलचित्रमा मलाई बले भनेर भनिएको छ । त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ ।”

    उनले सिनियर कलाकार दयाहाङसँग सिनेमामै भए पनि घम्साघम्सी र टकराब लिन केही कठिन भएको अनुभव सुनाए । “अग्रज र मैले मान्ने भएकाले दाइ के गरौँ, कसरी गरौँ भन्थेँ । दाइले अफ्ठ्यारो नमान्, यसरी गर भनेपछि, म गर्थें,” विजय भन्छन्, “अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही अड चाहिँ हुनेरहेछ ।”

    दयाहाङ भने सेटमा व्यक्ति भन्दा पनि चरित्र हुने भएकाले को सिनियर र जुनियर भन्ने नहुने बताउँछन् । आफूले पनि ‘दासढुंगा’मा गुरु अनुप बरालसँग यस्तै रोलमा काम गरेको उनले स्मरण गरे ।

    “उहाँले चरित्रमा गुरुचेला हुँदैन, भँडास पोख्ने मौका पनि यही हो भन्नुभयो,” दयाहाङ भन्छन्, “भँडास पोख्ने भनेर चरित्रभन्दा माथि चाहिँ जानु भएन । चरित्र निभाउन हिचकिचाहट मान्नु हुँदैन ।”

    नायिका समृद्धि अर्याललले आफू सिनेमामा शो पिस मात्रै नरहेको बताउँछिन् । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ ।

    “म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” सम्वृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका छ ।”

    ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले आफ्नो सिने करियरमा सहयोग गर्ने उनको भनाइ छ ।

    कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

    निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

    वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

    मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

    यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।


    आइतबार, २६ असोज २०८२
    सम्बन्धित समाचार
    Go