logo

२०८३ साउन २६ मंगलबार

“फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” सम्पन्न

“फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” सम्पन्न

182
SHARES
“फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” सम्पन्न

काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन गरिएको ३० दिने “फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम” सम्पन्न भएको छ। बोर्डको कार्यालयमा आयोजित समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले अध्यक्षता गरेका थिए भने काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। तालिममा ३५ जना सहभागी भएका थिए।



समारोहमा बोल्दै अध्यक्ष डीसीले चलचित्र उद्योगलाई प्रतिस्पर्धी र प्रभावकारी बनाउन दक्ष प्राविधिक जनशक्ति आवश्यक रहेको बताए। उनले चलचित्र निर्माणसँगै प्रचार–प्रसार, अभिलेखीकरण र चलचित्रसम्बन्धी समाचार सम्प्रेषणमा सक्षम फोटोपत्रकार तथा दृश्य सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। यस्ता प्रयोगात्मक र सीपमूलक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता उनले व्यक्त गरे।

कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमका प्रमुख प्रशिक्षक राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गरिन्। उनले तालिम सफलतापूर्वक पूरा गरेका सबै ३५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिन्।

उक्त अवसरमा नेपाली चलचित्र क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याएका नेपालका पहिलो स्टिल फोटोग्राफर मञ्जु कुमार श्रेष्ठ तथा वरिष्ठ फिल्म पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई जनही ३५ हजार रुपैयाँ राशिको सम्मान पुरस्कार प्रदान गरिएको थियो। चलचित्र विकास बोर्डले ‘स्थिर फोटोग्राफी’ र ‘चलचित्र प्रचार सामग्री डिजाइन’ विधामा योगदानको कदरस्वरूप पहिलोपटक यस्तो सम्मान प्रदान गरेको जनाएको छ।

डंगोलले सीपमूलक तालिमले युवालाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउन सहयोग पुग्ने बताइन्। महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरी युवाको क्षमता विकास र आत्मनिर्भरता बढाउने कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उनले तालिमबाट प्राप्त ज्ञानलाई काठमाडौंका पर्यटकीय, सांस्कृतिक र ऐतिहासिक सम्पदाको प्रवर्द्धनमा उपयोग गर्न आग्रह गरिन्।

३० दिने तालिममा फोटोग्राफी, फोटो–भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, दृश्य कथावाचन, समाचार प्रस्तुति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। समापन कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, फोटोपत्रकार, प्रशिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो.


सोमबार, १८ साउन २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go