कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा पुरस्कृत नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ को भोटेकोशी बाढी प्रभावितका लागि विशेष च्यारिटी प्रदर्शन गरिएको छ ।
च्यारिटी शोमा सहभागी दर्शकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रहेको क्यूआरमार्फत आफ्नो इच्छाअनुसार सहयोग रकम पठाएका थिए । कार्यक्रममा चलचित्रका कलाकार तथा प्राविधिकसहित सञ्चारकर्मी, पत्रकार, कलाकार, फिल्मकर्मी र विभिन्न क्षेत्रका आमन्त्रित व्यक्तित्वहरूको सहभागिता थियो ।
अभिनेत्री मनिषा कोइराला, करिश्मा मानन्धर, ऋचा शर्मा र उषा रजक लगायतको समेत उपस्थिति रहेको कार्यक्रममा चलचित्र प्रदर्शनपछि दर्शकले ताली बजाउँदै टोलीलाई स्ट्यान्डिङ ओभेसन दिएका थिए ।
चलचित्र हेरेपछि प्रतिनिधि सभा सदस्य तथा व्यवसायी विदुषी राणा भावुक बनेकी थिइन् । उनले चलचित्रको कथा र विषयवस्तु वर्तमान परिस्थितिसँग निकै सान्दर्भिक रहेको बताउँदै यसलाई सबैले हेर्नुपर्ने धारणा राखिन् ।
पटकथाकार तथा निर्देशक अविनाशविक्रम शाहले विपत्तिमा परेका नेपालीसँग दुःख साट्ने र राहतका लागि केही योगदान गर्ने उद्देश्यले च्यारिटी शो आयोजना गरिएको बताए । उनका अनुसार यो कार्यक्रममार्फत पीडामा रहेका मानिसलाई केही सहयोग पुग्न सके आफूले यसलाई सफलता मान्नेछन् ।
निर्माता अनूप पौडेलले पनि विपत्तिको कठिन समयमा फिल्मकर्मीका रूपमा आफूहरूले गर्न सक्ने योगदानबारे सोच्दै फन्ड रेजर स्क्रिनिङ आयोजना गरिएको बताए ।
चलचित्र शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । देश शोक र विपत्तिबाट गुज्रिरहेको अवस्थामा पनि पूर्वनिर्धारित प्रदर्शन मिति परिवर्तन नगर्ने निर्णय निर्माण पक्षले गरेको छ ।
अस्कर अवार्डका लागि आवेदन दिनुपर्ने भएकाले प्रदर्शन मिति यथावत् राखिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको प्रदर्शनबाट प्राप्त हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चलाई नेपालका कथा, पीडा, भोगाइ तथा जलवायु परिवर्तनका मुद्दा विश्वसामु पुर्याउने माध्यमका रूपमा प्रयोग गर्ने प्रतिबद्धता पनि फिल्म टिमले जनाएको छ ।
कान्स फिल्म फेस्टिभलको ‘अन सर्टेन रिगार्ड’ विधामा पुरस्कृत भइसकेको ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ ले नेपालको समसामयिक कथा र जलवायु परिवर्तनसँग जोडिएका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd