अभिनेत्री अञ्जना बराइलीले चलचित्र ‘सिन्दुरे जात्रा’ कथावस्तु र प्राविधिक पक्ष दुवै हिसाबले सशक्त बनेको बताएकी छन्। चलचित्रको नामले नै आफूलाई आकर्षित गरेको र कथा पढेपछि काम गर्ने इच्छा जागेकाले यसमा जोडिएको उनको भनाइ छ।
अञ्जनाका अनुसार ‘सिन्दुरे जात्रा’ महिलाको कथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र हो। नेपाली समाजले महिलालाई कसरी हेर्छ र उनीहरूप्रति कस्तो दृष्टिकोण राख्छ भन्ने विषयलाई चलचित्रले उठान गरेको छ।
चलचित्रमा ‘पूर्ण बहादुरको सारङ्गी’का केही कलाकार, निर्देशक र प्राविधिक दोहोरिए पनि यसको कथा भने पूर्ण रूपमा फरक रहेको उनले स्पष्ट पारेकी छन्। ‘पूर्ण बहादुरको सारङ्गी’सँग कथावस्तु नमिल्ने र यो त्यसको सिक्वेलसमेत नभएको उनको दाबी छ।
निर्देशक सरोज पौडेलले यसपटक समाजको सोचमाथि प्रश्न गर्ने प्रयास गरेको अञ्जनाले बताइन्। चलचित्रले कुनै पक्षको वकालत नगर्ने भन्दै महिलाप्रतिको सामाजिक दृष्टिकोण सही छ वा गलत भन्ने निर्णय दर्शकमै छाडिएको उनको भनाइ छ।
चलचित्रमा आफ्नो भूमिका मौन विद्रोहको रूपमा रहेको पनि अञ्जनाले खुलाएकी छन्। यद्यपि, उनले त्यो विद्रोहको स्वरूपबारे भने थप खुलाउन चाहिनन्।
चलचित्रमा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको चलचित्रको कथा निर्देशक सरोज पौडेलले तयार पारेका हुन्। सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता रहेका छन्। अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन्।
दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु)को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत सुन्न सकिनेछ।
मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने ‘सिन्दुरे जात्रा’लाई नेसनल सिने ग्रुप नेपालले वितरण गर्नेछ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd