logo

२०८३ मंसिर १० बुधबार

‘पच्चीस पच्चीस’को छायांकन सुरु

‘पच्चीस पच्चीस’को छायांकन सुरु

0
SHARES
‘पच्चीस पच्चीस’को छायांकन सुरु

सामाजिक विषयवस्तुलाई हास्यरसमा प्रस्तुत गर्ने उद्देश्यसहित निर्माण हुन लागेको चलचित्र ‘पच्चीस पच्चीस’को छायांकन सुरु भएको छ। कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्ने चलचित्रको बुधबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गर्दै शुभ मुहूर्त गरिएको हो।

शुभ मुहूर्त सम्पन्न भएसँगै निर्माण टोलीले बुधबारबाटै चलचित्रको छायांकन पनि थालेको छ। निर्देशक सुब्रत आचार्यले करिब ४० दिनको कार्यतालिका बनाएर छायांकन सम्पन्न गर्ने तयारी गरिएको जानकारी दिएका छन्।

चलचित्रमा अभिषेक खड्का, खुसी कार्की, अमित सुब्बा (भक्ते भाइ), सरोज खनाल, दीपाश्री निरौला, प्रमोद अग्रहरी, आशिष पुरुष, तेज गिरी, हेना नगरकोटी र निशा गौतमलगायत कलाकारको अभिनय रहनेछ।

यस चलचित्रमार्फत दार्जिलिङका चर्चित हास्य कलाकार तथा कन्टेन्ट क्रिएटर अमित सुब्बाले नेपाली चलचित्रमा अभिनय यात्रा सुरु गर्दैछन्। सामाजिक सञ्जालमा हास्य सामग्रीमार्फत परिचित उनी ‘पच्चीस पच्चीस’बाट ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन्।

निर्देशक सुब्रत आचार्यका लागि यो तेस्रो निर्देशकीय चलचित्र हो। यसअघि उनले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरिसकेका छन्। चलचित्रको कथा सुब्रत आचार्य र जयाले तयार पारेका हुन् भने पटकथा तथा संवादको जिम्मेवारी सुशील देवकोटाले सम्हालेका छन्। चलचित्रको छायांकन निर्देशन हरि हुमागाईंले गर्नेछन्।

निर्माता कर्ण कार्कीका लागि पनि ‘पच्चीस पच्चीस’ दोस्रो चलचित्र हो। यसअघि उनले ‘होस्टल ३’ निर्माण गरेका थिए। चलचित्रका कार्यकारी निर्माता दीपेन्द्र गौतम रहेका छन्। धिरेन्द्र लाल कर्ण र मणिराज खड्का सह–निर्माताका रूपमा जोडिएका छन्।

त्यस्तै, चलचित्रको लाइन प्रोडक्सनको जिम्मेवारी सरिता ढकाल, मनिषा राउत र प्रकाश कँडेलले सम्हालेका छन्।

सामाजिक विषयवस्तु र हास्य प्रस्तुतिको संयोजन रहने ‘पच्चीस पच्चीस’मा अनुभवी तथा नयाँ पुस्ताका कलाकारको सहकार्यले दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।


बुधबार, १० मंसिर २०८३
सम्बन्धित समाचार
Go