logo

२०८३ मंसिर १० बुधबार

हिमालयन गोल्ड’ले जित्दै दर्शकको मन, कथा र मेकिङको भइरहेको प्रशंसा

हिमालयन गोल्ड’ले जित्दै दर्शकको मन, कथा र मेकिङको भइरहेको प्रशंसा

0
SHARES
हिमालयन गोल्ड’ले जित्दै दर्शकको मन, कथा र मेकिङको भइरहेको प्रशंसा

नेपाली चलचित्रमा नयाँ विषयवस्तु र फरक शैलीको खोजी भइरहेका बेला प्रदर्शनमा आएको चलचित्र ‘हिमालयन गोल्ड’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ। गत शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको धीराज राजवंशीको डेब्यू निर्देशकीय चलचित्रले आफ्नो फरक प्रस्तुति र दृश्यात्मक पक्षका कारण दर्शकको ध्यान तानेको हो।

चलचित्र हेरेर हलबाट बाहिरिएका दर्शकले यसको कथावस्तु, कलाकारको अभिनय, छायांकन, लोकेसन र प्रस्तुतिको प्रशंसा गरेका छन्। विशेषगरी नेपाली पर्दामा कमै देखिने हिमाली भूगोल, गुफाका दृश्य र फरक किसिमको कथावाचनले आफूहरूलाई नयाँ अनुभव दिएको उनीहरूको प्रतिक्रिया छ।

केही दर्शकले ‘हिमालयन गोल्ड’लाई नेपाली चलचित्रको प्रस्तुतिमा नयाँपन ल्याउने प्रयासका रूपमा लिएका छन्। उनीहरूका अनुसार फिल्मको हरेक दृश्यले अर्को घटनाप्रति कौतूहलता जगाउँछ। कथा अगाडि बढ्दै जाँदा आउने सस्पेन्स र थ्रिलले दर्शकलाई बाँधेर राख्छ।

एक दर्शकले आफूले हेरेका नेपाली चलचित्रमध्ये ‘हिमालयन गोल्ड’ उत्कृष्टमध्ये परेको प्रतिक्रिया दिँदै यसको कथा, अभिनय र सस्पेन्स पक्षको प्रशंसा गरे। उनका अनुसार फिल्मको दृश्य र घटनाक्रमले अन्तिमसम्म के हुन्छ भन्ने जिज्ञासा कायम राख्छ।

त्यस्तै, अर्को दर्शकले चलचित्रको सिनेम्याटोग्राफीलाई विशेष रूपमा रुचाएका छन्। हिमाली क्षेत्र र गुफाभित्रका दृश्यलाई पर्दामा उतारिएको शैलीले नेपाली चलचित्रको प्राविधिक क्षमताबारे सकारात्मक सन्देश दिएको उनको भनाइ छ।

चलचित्रमा प्रयोग गरिएको स्थानीय नेपाली भाषा र मौलिक लवज पनि दर्शकका लागि आकर्षण बनेको छ। यद्यपि, केही दर्शकले संवादमा प्रयोग भएको ठेट भाषाशैली अलि कडा महसुस भएको बताएका छन्। विशेषगरी दिवंगत अभिनेता सुनिल थापाको चरित्र र संवाद शैली आफूले विगतमा देख्दै आएको भूमिकाभन्दा फरक रहेको उनीहरूको प्रतिक्रिया छ।

‘हिमालयन गोल्ड’ सुनिल थापाले अभिनय गरेको अन्तिम चलचित्र भएकाले पनि उनको उपस्थितिले दर्शकलाई भावनात्मक रूपमा जोडेको छ। चलचित्रमा उनले निर्वाह गरेको चरित्र र संवाद शैलीले दर्शकलाई आश्चर्यचकित बनाएको प्रतिक्रिया समेत आएको छ।

यार्सागुम्बाको खोजी र संकलनलाई आधार बनाएको चलचित्रले केवल प्राकृतिक सम्पदाको कथा मात्र नभई त्यससँग जोडिएका सामाजिक, सांस्कृतिक र मानवीय पक्षलाई समेत उजागर गरेको दर्शकको बुझाइ छ। यार्सागुम्बाबारे सामान्य जानकारी भए पनि यसको खोजी र संकलनसँग जोडिएका तीन दशकअघिका घटनाक्रमबारे चलचित्रले नयाँ जानकारी दिएको उनीहरूको प्रतिक्रिया छ।

एक युवती दर्शकले चलचित्रलाई यार्सागुम्बाको कथामा मात्र सीमित नरहेको बताइन्। सुनको खोजीमा लाग्दा मानिसको सोच, व्यवहार र मनोविज्ञानमा आउने परिवर्तनलाई फिल्मले रोचक ढंगले प्रस्तुत गरेको उनको धारणा छ।

अभिनयको स्वाभाविकता, बनावटीपनरहित संवाद र नेपाली संस्कृति तथा स्थानीय जीवनशैलीको चित्रणलाई पनि दर्शकले रुचाएका छन्। समग्रमा दर्शक प्रतिक्रियाले ‘हिमालयन गोल्ड’लाई परम्परागत नेपाली चलचित्रभन्दा फरक स्वाद दिने प्रयासका रूपमा चित्रण गरेको छ।

ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा कर्मा, परीक्षा लिम्बु, दिवंगत सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी, ऋषिकेश बस्याल र धीरज राजवंशीलगायत कलाकारको अभिनय छ।

धीराज राजवंशीको कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा दीपेन्द्र गौचन र धीराज राजवंशीले तयार पारेका हुन्। मीनबहादुर भाम निर्माता रहेको फिल्ममा सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माताका रूपमा छन्।

चलचित्रको अन्तर्राष्ट्रिय वितरणले पनि यसको प्रदर्शनलाई फराकिलो बनाएको छ। भारतमा ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’ जस्ता चर्चित चलचित्र वितरण गरिसकेको प्रतिष्ठित कम्पनी एए फिल्म्सले ‘हिमालयन गोल्ड’को वितरण गरेको छ। नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरणको जिम्मेवारी सम्हालेका छन्।


बुधबार, १० मंसिर २०८३
सम्बन्धित समाचार
Go