कर्णालीको पर्यटन प्रवर्द्धन र नेपाली चलचित्रको विकासलाई जोड्ने उद्देश्यसहित आयोजना हुँदै आएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किफ) को चौथो संस्करण आगामी फागुन २३ गतेदेखि सुरु हुने भएको छ। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले महोत्सवको मिति र कार्यक्रम सार्वजनिक गरेका हुन्।
महोत्सवको सुरुवात दैलेखको गुराँसमा आयोजना हुने गुराँस पर्यटन महोत्सवसँगै गरिनेछ। त्यसको भोलिपल्ट अर्थात् फागुन २४ गते सुर्खेतस्थित होटल शुभमा कर्णाली पर्यटन तथा चलचित्र संवाद र विशेष चलचित्र प्रदर्शनको कार्यक्रम राखिएको छ।
सोही अवसरमा ‘कर्णाली हेरौँ, कर्णाली घुमौँ’ शीर्षकमा भिडियो प्रतियोगितासमेत आयोजना गरिने आयोजकले जानकारी दिएको छ।
महोत्सवको अर्को महत्वपूर्ण कार्यक्रमका रूपमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र अवार्ड समारोह २०८४ वैशाख ११ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना हुनेछ। यसैगरी सन् २०२७ को मे महिनामा भारतको सिक्किम र सिलिगुडीमा नेपाल–भारत पर्यटन तथा चलचित्र सहकार्य संवाद सञ्चालन गर्ने तयारी गरिएको महोत्सव निर्देशक चक्रबहादुर चन्दले बताए।
कर्णालीलाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र छायांकनको केन्द्र बनाउने उद्देश्य महोत्सवले राखेको छ। प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र पर्यटकीय सम्भावना प्रशस्त भए पनि कर्णालीमा पर्यटन तथा चलचित्रसम्बन्धी गतिविधि अपेक्षाकृत कम भएको आयोजकको ठहर छ।
कर्णालीका मौलिक कथा, भाषा, भेषभूषा, कला, संस्कृति, जीवनशैली र परम्परालाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अभियान महोत्सवले अघि सारेको छ। ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने नारासहित ‘गन्तव्य कर्णाली’ अभियानलाई पनि निरन्तरता दिइने जनाइएको छ।
कर्णालीका धार्मिक तथा पर्यटकीय स्थल र सम्भावित छायांकन क्षेत्रलाई देशविदेशका चलचित्र निर्माता तथा निर्देशकसम्म पुर्याउनु महोत्सवको प्रमुख लक्ष्य हो। यसका साथै पर्यटन प्रवर्द्धन र जलवायु परिवर्तनको विषय उठान गर्ने चलचित्रलाई विशेष सम्मान तथा प्रोत्साहन गर्ने योजना रहेको छ।
महोत्सवमार्फत स्थानीय कलाकार तथा चलचित्रकर्मीको क्षमता र पहिचान स्थापित गर्ने, गाउँगाउँमा नेपाली चलचित्र प्रदर्शन गर्ने, चलचित्र साक्षरता अभियान सञ्चालन गर्ने तथा चलचित्र क्षेत्रका समस्या र सम्भावनाबारे बहस गर्ने कार्यक्रमसमेत समेटिएका छन्। संघीय सरकार, कर्णाली प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ।
रेडचेरी र टिमले सुरुवात गरेको यस महोत्सवको निर्देशन चक्रबहादुर चन्दले गरिरहेका छन्।
चौथो संस्करणको घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, गुराँस गाउँपालिका दैलेखका प्रमुख टोपबहादुर बिसी, निर्माता तथा निर्देशक दीपकराज गिरी, आकाश अधिकारी, रेखा थापा, किफका सद्भावना दूत तथा अभिनेता प्रदीप खड्का, निर्माता सन्तोष सेन, प्रेम पुरी, लेखक तथा निर्देशक रामशरण पाठक र कलाकार एवं युवा नेता हिमेश पन्तलगायतको उपस्थिति थियो।
कार्यक्रममा महोत्सव निर्देशक चक्रबहादुर चन्दले चलचित्र पर्यटन र जलवायु परिवर्तनको विषयलाई यसपटक पनि प्राथमिकताका साथ अघि बढाइने बताए। कर्णालीका पर्यटकीय तथा धार्मिक स्थललाई चलचित्र छायांकनको गन्तव्यका रूपमा चिनाउने र स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने अभियान महोत्सवको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो।
त्यस्तै, किफका सद्भावना दूत प्रदीप खड्काले महोत्सवले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए। चलचित्र र पर्यटनलाई एकसाथ अगाडि बढाउन यस्ता महोत्सव आवश्यक रहेको उनको धारणा थियो।
अभिनेता तथा निर्देशक दीपकराज गिरीले आफू काठमाडौंको रैथाने भए पनि कर्णालीको प्राकृतिक सौन्दर्य र सम्भावनाले सधैँ आकर्षित गर्ने गरेको बताए। उनले आगामी दिनमा कर्णालीमै पुगेर चलचित्र छायांकन गर्न सकिने सम्भावनासमेत औँल्याए।
कर्णालीको पर्यटन, संस्कृति र प्राकृतिक सम्पदालाई चलचित्रसँग जोडेर अन्तर्राष्ट्रिय पहिचान दिलाउने लक्ष्यसहित चौथो संस्करणको किफ महोत्सव आयोजना हुन लागेको हो।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd