दिनेश राउतको निर्देशनमा बनिरहेको नेपाली चलचित्र ‘महाभोज’को छायाङ्कन सम्पन्न भएको छ । अन्तिम चरणमा काठमाडौंमा छायाङ्कन गर्दै शुक्रवार साँझ चलचित्रको इन्ड क्ल्याप गरिएको हो । इन्ड क्ल्यापमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री अञ्जना बराइलीको दृश्य छायाङ्कन गरिएको थियो ।
यो चलचित्रको छायाङ्कन गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको थियो । चलचित्रको ३५ दिने छायाङ्कन तालिकामा ३३ दिन घाचोक र २ दिन काठमाडौंमा छायाङ्कन गरिएको निर्देशक राउतले बताए । निर्देशकका अनुसार ‘महाभोज’ समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको कथामा आधारित छ । यस चलचित्रले सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही स्वर प्रस्तुत गर्ने विश्वास उनले लिएका छन् । ‘महाभोज’ निर्देशक दिनेश राउतको आठौँ चलचित्र हो ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।
मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ ।
काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् । हालसम्म ‘महाभोज’को प्रदर्शन मिति भने घोषणा गरिएको छैन । निर्देशक राउतले चलचित्र रिलिजको लागि उपयुक्त मिति छनौट गरी जानकारी दिने बताए ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd