logo

२०८२ मंसिर २१ शनिबार

logo
  • शनिबार, २१ मंसिर २०८२
  • ‘अञ्जिला’को ट्रेलर युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा

    ‘अञ्जिला’को ट्रेलर युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा

    • kollywood_khabar
    • आइतबार, १८ फाल्गुन २०८१
    897
    SHARES
    ‘अञ्जिला’को ट्रेलर युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा

    यही फागुन २९ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘अञ्जिला’को शुक्रवार सार्वजनिक गरिएको ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको चलचित्र सेक्सनको दोस्रो स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म करिब ८ लाख भ्युज रहेको ट्रेलरले व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

    ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको सङ्घर्षदेखि कप्तान बन्दा सम्मको कथा रहेको छ । दर्शकहरूले एन्जिलालाई आफ्नै वास्तविक कथामा बनेको चलचित्रमा अभिनेत्रीको रूपमा समेत आफैँले निभाएको भूमिकामा अभिनयको प्रशंसा गरेका छन् ।

    युट्युबमा ट्रेलर हेरेपछि धेरै दर्शकहरूले भावुक भएको प्रतिक्रिया जनाएका छन् । यस चलचित्रले नेपाली चेलीहरूको कथालाई प्रतिनिधित्व गरेको र यसले नेपाली खेलाडीहरूलाई मात्र नभई यस्तै सङ्घर्षबाट गुज्रिरहेका कैयन नेपाली चेलीहरूलाई समेत प्रोत्साहन गर्ने विश्वास दर्शकहरूले व्यक्त गरेका छन् । देशको नाम राख्न गौरवपूर्ण काम गर्ने खेलाडीको कथामा बनेको यस चलचित्रलाई सबैले हेरी सफल बनाउन आह्वान भएका प्रतिक्रियाहरू समेत युट्युबमा प्राप्त छन् ।

    यस चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्र ‘अञ्जिला’को ट्रेलरलाई प्राप्त दर्शकको माया र प्रतिक्रियाको लागि आभार व्यक्त गरे । उनले युट्युबको ट्रेन्डिङमा दोस्रो स्थानमा पुगेकोमा खुसी व्यक्त गर्दै, चलचित्रलाई पनि यसरी नै माया गर्न दर्शकहरूलाई आग्रह गरेका छन् । चाम्सले विशेष गरी खेल प्रेमी र खेलाडीहरूलाई यो चलचित्र हेर्न अनुरोध गरेका छन् ।

    “यो खेलाडीको कथामा यो चलचित्र हो । अन्य दर्शकहरूले त हेरिहाल्नु हुन्छ, खेल प्रेमी र खेलाडीहरू प्रति मेरो विनम्र आग्रह छ की यो चलचित्र हामीले सफल गराउन सकियो भने आगामी दिनमा खेलसम्बन्धी चलचित्रहरू बनाउन नेपाली चलचित्र निर्माताहरूले लगानी गर्नेछन्,” चाम्सले बताए ।

    यस चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । चलचित्रको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता हुन् ।


    आइतबार, १८ फाल्गुन २०८१
    सम्बन्धित समाचार
    Go