विश्वप्रसिद्ध युट्युबर तथा परोपकारी जिम्मी डोनाल्डसन ‘मिस्टर बिस्ट’ले नेपालमा भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत संकलन अभियान सुरु गरेका छन्।
अमेरिकी कन्टेन्ट क्रिएटर डोनाल्डसनले इन्स्टाग्राम स्टोरीमार्फत नेपालका विपद् प्रभावितलाई सहयोग आवश्यक रहेको भन्दै विश्वभरका मानिसलाई अभियानमा सहभागी हुन आग्रह गरेका हुन्। उनले आफ्नो पहलबाट लाखौं डलर बराबरको राहत रकम जुटाउने प्रयास भइरहेको जानकारी दिएका छन्।
मिस्टर बिस्टले भिडियो सन्देशमा नेपालका प्रभावितसम्म राहत पुर्याउन आफूहरूले अभियान अघि बढाएको उल्लेख गर्दै विश्वको जुनसुकै स्थानबाट सहयोग गर्न सकिने बताएका छन्। उनका अनुसार संकलित सहयोग विपद् प्रभावितका लागि प्रयोग गरिनेछ।
नेपालमा भिडियो छायांकन गर्ने उनको पूर्वनिर्धारित योजना पनि भोटेकोशी बाढीपछि स्थगित भएको बताइएको छ। सोही योजनाका लागि नेपाल आउने तयारीमा रहेका बेला बाढीको खबर पाएपछि तत्कालका लागि छायांकन रोकिएको र त्यसपछि राहत अभियानमा जोडिएको उनको भनाइ छ।
उनको परोपकारी संस्था ‘बिस्ट फिलान्थ्रोपी’को सामाजिक परियोजना ‘केयर प्याकेज’मार्फत राहत अभियान अघि बढाइएको हो। अभियानअन्तर्गत प्रभावितका लागि अस्थायी आवास, सौर्य ऊर्जा, खाना पकाउने ग्यास तथा आवश्यक सामग्री, पिउने पानी, साबुन र महिनावारी स्वच्छताका सामग्री उपलब्ध गराउने योजना छ।
मिस्टर बिस्टले आर्थिक सहयोग गर्न सकिने डोनेसन लिंकसमेत सार्वजनिक गरेका छन्।
डोनाल्डसनको ‘मिस्टर बिस्ट’ नामको युट्युब च्यानल विश्वकै सर्वाधिक सब्सक्राइबर भएको युट्युब च्यानलमध्ये शीर्ष स्थानमा छ। च्यानलमा ५१७ मिलियनभन्दा बढी सब्सक्राइबर रहेको उल्लेख छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd