वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित चलचित्र ‘म मदनकृष्ण’ निर्माण भइरहेको छ । आफ्नै जीवनका विभिन्न घटनालाई पर्दामा उतारिँदै गरेको देख्दा मदनकृष्ण श्रेष्ठ छायाङ्कन स्थलमै भावुक बनेका छन् ।
आफ्नो जीवनकथामा आधारित चलचित्रको छायाङ्कन हेर्न सेटमा पुगेका श्रेष्ठले प्रत्येक दृश्यलाई ध्यानपूर्वक अवलोकन गरेका थिए । उनले छायाङ्कनका क्रममा निर्माण टोलीलाई आवश्यक सुझावसमेत दिएका थिए ।
चलचित्रका निर्देशक मिलन चाम्सका अनुसार आफ्नो जीवनकथामा चलचित्र बनिरहेको प्रत्यक्ष देख्दा मदनकृष्ण भावुक भएका थिए । साथै, चलचित्र निर्माणका क्रममा भइरहेको कामप्रति उनी सन्तुष्टसमेत देखिएका थिए ।
निर्देशक चाम्सले आफ्नो कथामा आधारित चलचित्र निर्माण भइरहेका बेला सम्बन्धित व्यक्ति स्वयं छायाङ्कन स्थलमा उपस्थित हुँदा काम गर्न सहज भएको बताएका छन् । मदनकृष्ण श्रेष्ठको उपस्थितिले चलचित्रको निर्माण प्रक्रियामा थप सहयोग पुगेको उनको भनाइ छ ।
गत असोज २ गतेदेखि काभ्रेको धुलिखेलमा सुरु भएको चलचित्रको पहिलो चरणको छायाङ्कन सम्पन्न भएको छ । निर्देशक चाम्सका अनुसार चलचित्रको दोस्रो चरणको छायाङ्कन दसैँलगत्तै सुरु हुनेछ ।
चलचित्रमा मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका अभिनेता महेश त्रिपाठीले निर्वाह गरिरहेका छन् । त्यसैगरी, उनकी पत्नी यशोदाको भूमिकामा अभिनेत्री केकी अधिकारी देखिनेछिन् ।
‘मह जोडी’का अर्का सदस्य हरिवंश आचार्यको भूमिकामा अभिनेता अरुण क्षेत्रीले अभिनय गरिरहेका छन् । हरिवंश आचार्यकी पत्नीको भूमिकामा भने अभिनेत्री वर्षा राउत देखिनेछिन् ।
नेपाली हास्यव्यङ्ग्य क्षेत्रका स्थापित कलाकार मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित यस चलचित्रले उनको व्यक्तिगत तथा कलात्मक यात्रालाई पर्दामा प्रस्तुत गर्नेछ । चलचित्रको आगामी छायाङ्कन र प्रदर्शनसम्बन्धी थप विवरण भने निर्माण पक्षबाट सार्वजनिक हुन बाँकी छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd