भदौ ५ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मास्टर्नी’ का दुई नयाँ पोस्टर सार्वजनिक गरिएका छन्। यसअघि सार्वजनिक भएको प्रियंका कार्कीको एकल पोस्टरले सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण टिमले कथावस्तुको थप झलक दिने दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो।
पहिलो पोस्टरमा प्रियंका कार्की र सिम्रन खड्कालाई आमा–छोरीको भूमिकामा भावुक शैलीमा प्रस्तुत गरिएको छ, जसले उनीहरूबीचको सम्बन्ध र पारिवारिक संवेदनालाई उजागर गर्छ। दोस्रो पोस्टरमा प्रियंका कार्कीसँग प्रमोद अग्रहरी र सिम्रन खड्का देखिएका छन्। पोस्टरमा ‘नेपाल प्रहरी अपराध घटनास्थल प्रवेश निषेध’ टेप, हराइरहेका व्यक्तिहरूको पृष्ठभूमि र ‘उनले अपराध रोजिनन्, उनले त केवल आफ्नी छोरी रोजिन्’ भन्ने ट्यागलाइन समावेश गरिएकाले चलचित्र क्राइम–थ्रिलर जनरामा आधारित रहेको संकेत मिल्छ।
शुभेन्दु घोष निर्देशित चलचित्रमा प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी, गौरी मल्ल, सरोज खनाल, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा र दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। निर्माण टोलीले नेपालीसँगै अन्य भाषामा पनि चलचित्र एकसाथ प्रदर्शन गर्ने तयारी गरेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd