नेपाल र दक्षिण कोरियाका चलचित्रकर्मीबीचको सहकार्यमा अन्तर्राष्ट्रिय फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ। बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको संयुक्त सहकार्यमा बन्न लागेको चलचित्रमा दक्षिण कोरियाली निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ र नेपाली निर्माता चन्दन झा जोडिएका छन्।
रोमान्टिक कमेडी र सुपरनेचुरल विधामा आधारित चलचित्रमा के-ड्रामाको स्वादसमेत दर्शकले अनुभव गर्न पाउनेछन्। पूर्व कोरियाली के-पप स्टार र एक युवा नेपाली गुरु तथा होटल सञ्चालकबीच विकसित हुने अप्रत्याशित प्रेम सम्बन्ध चलचित्रको मुख्य कथावस्तु हो। प्रेम, हास्य र रहस्यलाई एकसाथ प्रस्तुत गर्दै सेलिब्रेटी जीवनशैली र नेपालको आध्यात्मिक परिवेशबीचको फरक संसारलाई पर्दामा उतार्ने निर्माण पक्षको तयारी छ।
चलचित्रमा नेपाली अभिनेता अरुण क्षेत्री पुरुष मुख्य भूमिकामा देखिने भएका छन्। अन्तर्राष्ट्रिय प्रेमकथाको केन्द्रमा नेपाली पात्र रहने भए पनि महिला मुख्य भूमिकामा भने दक्षिण कोरियाली अभिनेत्री रहनेछिन्। उनको नाम उपयुक्त समयमा सार्वजनिक गरिने निर्देशक बोइम ह्वाङले जानकारी दिएकी छन्।
चलचित्रको निर्माण टोलीमा निर्देशक तथा लेखक बोइम ह्वाङ, सह निर्माता चन्दन झा, छायाङ्कन निर्देशक नरेन्द्र मैनाली, लाइन प्रोड्युसर प्रकाश हमाल र क्रिएटिभ तथा कास्टिङ डाइरेक्टरका रूपमा उत्पल झा रहेका छन्। उत्पल झाले भाषा तथा अभिनय प्रशिक्षक र क्यारेक्टर डाइरेक्टरको जिम्मेवारीसमेत सम्हाल्नेछन्।
नेपाललाई प्रायः हिमाल र पदयात्राको गन्तव्यका रूपमा प्रस्तुत गरिँदै आए पनि ‘ग्रान्ड एभरेस्ट आश्रम’ले त्यसभन्दा फरक सांस्कृतिक र आध्यात्मिक पाटोलाई कथाको माध्यम बनाउनेछ। सामान्य जीवन र अलौकिक संसारबीचको अन्तरक्रियासँगै प्रेम, पहिचान र बाहिरी आवरण तथा वास्तविकताबीचको भिन्नतालाई चलचित्रले उठाउनेछ।
निर्देशक बोइम ह्वाङले नेपालसँग आफ्नो विशेष आत्मीयता रहेको बताएकी छन्। पटक–पटकको नेपाल भ्रमणले यहाँको प्रकृति, मानिस र आध्यात्मिक वातावरणप्रति आकर्षण बढाएको उल्लेख गर्दै उनले आफ्नो सिनेम्याटिक दृष्टिकोणबाट नेपालको फरक अनुभूति विश्व दर्शकमाझ पुर्याउन चाहेको बताएकी छन्।
सह निर्माता चन्दन झाका अनुसार चलचित्रलाई विश्वव्यापी थिएटर प्रदर्शन र अन्तर्राष्ट्रिय फिल्म महोत्सवलाई लक्षित गरेर निर्माण गरिनेछ। नेपाल, दक्षिण कोरिया, उत्तर अमेरिका र युरोपका दर्शकलाई ध्यानमा राखिएको चलचित्रलाई भविष्यमा विभिन्न स्ट्रिमिङ प्लेटफर्ममार्फत समेत प्रदर्शन गर्ने योजना छ।
नेपाल र दक्षिण कोरियाका कलाकार तथा प्राविधिकको अनुभवलाई एकै ठाउँमा जोड्ने यो परियोजनाले दुई देशबीचको सांस्कृतिक र सिर्जनात्मक सम्बन्धलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
चलचित्रको छायाङ्कन सन् २०२७ फेब्रुअरीदेखि नेपालमा सुरु गर्ने तयारी छ। मार्चसम्म छायाङ्कन जारी रहने प्रारम्भिक योजना रहेको निर्माण पक्षले जनाएको छ। दक्षिण कोरियाली अभिनेत्री, अन्य कलाकार तथा निर्माण टोलीका थप सदस्यबारे विवरण भने आगामी दिनमा सार्वजनिक गरिनेछ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd