अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह दुई वर्षपछि नेपाली चलचित्रमा पुनरागमन गर्ने भएकी छन् । उनको मुख्य भूमिका रहने नयाँ फिल्म ‘एक्का मिस्सी बादशाह’ को औपचारिक घोषणा गरिएको छ।
फिल्ममार्फत बेलायतबाट नेपाल फर्किएका सञ्जय राईले निर्देशनमा डेब्यु गर्दैछन्। घोषणा कार्यक्रममा उनले युवापुस्ताको सोच, प्रेम, सम्बन्ध र जीवनका विविध उतारचढावलाई समेटेर फरक स्वादको कथा प्रस्तुत गर्न लागेको बताए।
साम्राज्ञीको पछिल्लो चलचित्र ‘लन्डन टु पेरिस’ सन् २०२४ मा प्रदर्शनमा आएको थियो। त्यसपछि उनी भुटानी मूलका अमेरिकी युवासँग इन्गेजमेन्टपछि केही समय विदेशमै बस्दै स्पेनलगायत विभिन्न देशको भ्रमणमा व्यस्त थिइन्। अहिले भने स्वदेश फर्किएसँगै उनी नयाँ चलचित्रमार्फत दर्शकमाझ आउन लागेकी हुन्।
फिल्ममा साम्राज्ञीले ‘आश’ नामको पात्र निर्वाह गर्नेछिन्। निर्माण टिमले उनको बोल्ड अवतार झल्किने फर्स्ट लुक पोस्टरसमेत सार्वजनिक गरेको छ।
कार्यक्रममा साम्राज्ञीले आफूले मनपर्ने र चुनौतीपूर्ण भूमिका नपाएकै कारण केही समय फिल्मबाट टाढा रहेको बताइन्। नयाँ चलचित्रमा भने आफ्नो पात्र साहसी, आत्मविश्वासी र निकै फरक भएकाले काम गर्न उत्साहित भएको उनको भनाइ छ।
‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ भन्ने ट्यागलाइन बोकेको चलचित्रले दुई साथीको यात्रा, प्रेम, संघर्ष र सामाजिक सञ्जालको पुस्ताको जीवनशैलीलाई मुख्य विषय बनाउने निर्देशक राईले जानकारी दिए।
फिल्ममा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ रहेका छन्। नरेन्द्र मैनालीले छायांकन गर्ने यस चलचित्रमा निकेश कार्की र रोमन बज्राचार्यको संगीत, आशिम रानाभाटको स्टाइलिङ तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ।
चलचित्रको छायांकन आगामी फागुनदेखि सुरु गर्ने तयारी गरिएको छ भने अन्य कलाकारको नाम निर्माण टिमले चाँडै सार्वजनिक गर्ने जनाएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd