logo

२०८३ भाद्र २९ सोमबार

एलिना चौहानको ‘नौरती फुली’ करोड क्लबमा, यस वर्षको पहिलो करोड भ्युज पाउने तीज गीत

एलिना चौहानको ‘नौरती फुली’ करोड क्लबमा, यस वर्षको पहिलो करोड भ्युज पाउने तीज गीत

  • kollywood 1
  • सोमबार, २९ भाद्र २०८३
104
SHARES
एलिना चौहानको ‘नौरती फुली’ करोड क्लबमा, यस वर्षको पहिलो करोड भ्युज पाउने तीज गीत

गायिका एलिना चौहानको स्वरमा रहेको चर्चित तीज गीत ‘नौरती फुली’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ। साउन १ गते सार्वजनिक गरिएको यो गीत दर खाने दिन अर्थात् भदौ २८ गते करोड भ्युजको आँकडा पार गर्दै यस वर्षको पहिलो करोड क्लबमा पुग्ने तीज गीत बन्न सफल भएको हो।

तीज पर्वलाई लक्षित गर्दै सार्वजनिक गरिएको ‘नौरती फुली’ले रिलिज भएदेखि नै दर्शक तथा श्रोताबाट उत्साहजनक प्रतिक्रिया पाउँदै आएको थियो। गीत सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जाल तथा युट्युबमा यसको चर्चा बढ्दै गएपछि भिडियोले निरन्तर उच्च भ्युज बटुल्न सफल भएको हो।

एलिना चौहानको सुमधुर स्वरमा रहेको गीतमा कृष्ण मल्ल ठकुरीको शब्द रहेको छ। गीतको संगीत संयोजन टेकेन्द्र शाहले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ कृष्ण बाजुरालीले गरेका हुन्। गीतको रेकर्डिङ ‘द म्युजिक एरा’मा गरिएको हो।

त्यस्तै, गीतको भिडियो निर्माणतर्फ उमेशबहादुर शाह सिनेमाटोग्राफर, रामकुमार केसी डीओपी रहेका छन्। भिडियोको पोस्ट प्रोडक्सन लाइमलाइट नेपालले गरेको हो भने निर्देशन तथा सम्पादन टेकेन्द्र शाहले गरेका छन्।

तीजको सांगीतिक माहोल सुरु भएदेखि नै ‘नौरती फुली’ले दर्शकको ध्यान तान्दै आएको थियो। विशेषगरी सामाजिक सञ्जालमा गीतका अंश र भिडियोका दृश्यहरू चर्चामा आउँदा यसको लोकप्रियता थप बढेको देखिएको छ।

साउन १ गते सार्वजनिक भएको गीतले भदौ २८ गते अर्थात् दर खाने दिनमै करोड भ्युजको सफलता हासिल गर्नु ‘नौरती फुली’का लागि अर्को विशेष उपलब्धि बनेको छ। यससँगै ‘नौरती फुली’ले यस वर्ष करोड क्लबमा प्रवेश गर्ने पहिलो तीज गीतको रूपमा नयाँ चर्चा पाएको छ।

तीज गीतको प्रतिस्पर्धात्मक बजारमा छोटो समयमै करोड भ्युजको आँकडा पार गर्नुले एलिना चौहानको लोकप्रियता र ‘नौरती फुली’प्रति दर्शक–श्रोताको आकर्षणलाई समेत देखाएको छ।


सोमबार, २९ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go