logo

२०८३ भाद्र २९ सोमबार

तीज गीतमा मौलिकता हराउँदै, क्षणिक चर्चाभन्दा गहिरो सिर्जनाको खोजी

तीज गीतमा मौलिकता हराउँदै, क्षणिक चर्चाभन्दा गहिरो सिर्जनाको खोजी

  • kollywood 1
  • सोमबार, २९ भाद्र २०८३
26
SHARES
तीज गीतमा मौलिकता हराउँदै, क्षणिक चर्चाभन्दा गहिरो सिर्जनाको खोजी

तीजको मुख्य दिन आज भदौ २९ गते देशभर तीजको रौनक छाएको छ। तीजसँगै हरेक वर्ष नयाँ गीतको बाढी आउने गरे पनि पछिल्लो समय सार्वजनिक भएका धेरै गीत लामो समयसम्म दर्शक–श्रोताको मनमा बस्न नसकेको चर्चा हुन थालेको छ।

लोकगायिका लक्ष्मी न्यौपानेले पछिल्लो समय तीज गीतको संख्यामा वृद्धि भए पनि सबै सिर्जनामा तीजको वास्तविक मर्म भेटिन नसकेको बताएकी छन्। उनका अनुसार क्षणिक लोकप्रियता र सामाजिक सञ्जालमा भाइरल हुने उद्देश्यले तयार पारिएका गीतभन्दा शब्द, संगीत र भावनामा गहिराइ भएका सिर्जना लामो समयसम्म टिक्ने गर्छन्।

न्यौपानेका अनुसार तीजका गीतमा समयअनुसार परिवर्तन आउनु स्वाभाविक भए पनि मौलिकता भने हराउनु हुँदैन। पहिलेका गीतमा भगवान् शिव–पार्वतीको प्रसंग, माइतीको सम्झना, चेलीका दुःख–पीडा तथा सामाजिक अवस्थालाई गीतमार्फत प्रस्तुत गरिन्थ्यो। अहिले महिलाका अधिकार, चेतना, सशक्तीकरण र बदलिँदो जीवनशैलीका विषय पनि तीज गीतमा आउन थालेका छन्।

तर तीजको नाममा केवल मनोरञ्जन र चर्चाका लागि तयार गरिएका केही सिर्जनाले पर्वको सांस्कृतिक पक्षलाई कमजोर बनाउने चिन्ता पनि व्यक्त हुँदै आएको छ। सस्तो लोकप्रियताका लागि भड्किलो प्रस्तुति र तीजको मूल भावनासँग मेल नखाने विषयलाई प्राथमिकता दिँदा गीतको आयु छोटो हुने कलाकारहरूको बुझाइ छ।

न्यौपानेले आफ्नो सांगीतिक यात्रामा करिब एक सय तीज गीतमा स्वर दिएकी छन्। ‘टिकिया हो मेरो टल टल’, ‘झल्को माइतीको’ र ‘जान्नँ म त दाइ’ लगायत उनका गीत लामो समयदेखि श्रोता–दर्शकमाझ लोकप्रिय छन्। उनका अनुसार यस्ता गीतको लोकप्रियताको आधार मौलिक शब्द, सरल लय र नेपाली समाजसँग जोडिएको भावनात्मक पक्ष हो।

पछिल्लो समय युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालले गीतको लोकप्रियता मापन गर्ने प्रमुख माध्यमको रूप लिएका छन्। जसका कारण धेरै कलाकार तथा निर्माता छोटो समयमा धेरै भ्युज र चर्चा प्राप्त गर्ने उद्देश्यमा केन्द्रित हुने गरेका छन्। तर सामाजिक सञ्जालमा केही दिन चर्चामा आउनु र वर्षौँसम्म सम्झनलायक गीत बन्नु फरक कुरा भएको न्यौपानेको भनाइ छ।

उनले नयाँ पुस्ताका कलाकारलाई व्यावसायिकतासँगै मौलिकतामा पनि ध्यान दिन आग्रह गरेकी छन्। कलाकारले आज सिर्जना गरेको गीत भोलिको पुस्ताका लागि नेपाली संस्कृति र समाज बुझ्ने माध्यम बन्न सक्ने भएकाले सिर्जनाप्रति जिम्मेवार हुनुपर्ने उनको धारणा छ।

तीज गीत निर्माणमा अहिले लाखौँ रुपैयाँसम्म लगानी हुने गरेको छ। भिडियो निर्माण, कलाकार, प्राविधिक तथा प्रचारप्रसारमा ठूलो रकम खर्च हुने भएकाले लगानी उठाउन बजारमुखी गीत बनाउनुपर्ने दबाब कलाकारमाथि रहेको पनि बताइन्छ। तर व्यावसायिकता र मौलिकतालाई सँगसँगै अघि बढाउन सकिने कलाकारहरूको तर्क छ।

तीजको मुख्य दिन आज पुराना सदाबहार गीतमा नाच्ने र रमाउनेको संख्या उल्लेख्य देखिन्छ। यसले पनि तत्कालीन सिर्जनामा रहेको मौलिकता र भावनात्मक गहिराइप्रति दर्शक–श्रोताको आकर्षण अझै कायम रहेको देखाउँछ।

तीजका गीत समयसँगै परिवर्तन हुन आवश्यक भए पनि पर्वको मौलिकता, सांस्कृतिक पहिचान र सामाजिक भावनालाई जोगाउँदै नयाँ पुस्ताले नयाँ सिर्जना गर्नुपर्ने आवश्यकता कलाकारहरूले औँल्याएका छन्। क्षणिक भाइरलभन्दा दीर्घकालीन सम्झनामा रहने गीत निर्माण गर्न सके मात्र तीज गीतको सांगीतिक परम्परा थप समृद्ध बन्ने देखिन्छ।


सोमबार, २९ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go