निर्देशक भुवन केसीको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा चलचित्रका मुख्य कलाकार अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा प्रेमिल जोडीका रूपमा प्रस्तुत भएका छन् ।
युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा अनमोल र प्रिन्सीको प्रेमभाव, आकर्षक हाउभाउ र रोमान्टिक दृश्यलाई प्राथमिकता दिइएको छ । विक्रम स्वारले कोरियोग्राफी गरेको गीतमा खोला किनार, घुम, डन्डिबियो र मकैबारीजस्ता दृश्यले नेपाली समाजको पुरानो परिवेशको झल्को दिएका छन् ।
चलचित्रको टिजर सार्वजनिक भएपछि अनमोलको रूपरङ र प्रस्तुतिमा उनका पिता भुवन केसीको झल्को आएको भन्दै चर्चा भएको थियो । गीत सार्वजनिक भएसँगै अनमोलको शैलीले भुवनका पुराना चलचित्रका गीतहरूको सम्झना गराएको प्रतिक्रिया पनि आउन थालेको छ । यस्तै, यसै चलचित्रबाट अभिनयमा प्रवेश गरेकी प्रिन्सीले आफ्नो भावभङ्गी र प्रस्तुतिमार्फत दर्शकको ध्यान खिच्ने प्रयास गरेकी छन् ।
चलचित्रमा भुवन केसीसँगै गरिमा पन्तको पनि अभिनय रहेको छ । सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको चलचित्रलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् ।
‘बाटुलो जून’ आगामी कात्तिक २६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ । पहिलो गीतले चलचित्रप्रति दर्शकको चासो बढाउने अपेक्षा निर्माण पक्षको रहेको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd