logo

२०८३ कार्तिक १० सोमबार

‘कबड्डी ५’लाई ‘सुपरहिट’को ट्याग

‘कबड्डी ५’लाई ‘सुपरहिट’को ट्याग

  • kollywood_khabar
  • सोमबार, १० कार्तिक २०८३
39
SHARES
‘कबड्डी ५’लाई ‘सुपरहिट’को ट्याग

रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ५’ले बक्स अफिसमा आक्रामक सुरुवात गरेको छ । प्रदर्शनको दुई दिनमै देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई ‘सुपरहिट’को ट्याग दिएको छ । क्यूएफएक्सले आइतबार बिहान आफ्नो वेबसाइटमा फिल्मलाई उक्त मान्यता दिएको हो ।

क्यूएफएक्सको मापदण्डअनुसार कुनै फिल्मले उक्त चेनका हलबाट एक सातामा १ करोड ५० लाख रुपैयाँ कमाइ गरेमा ‘सुपरहिट’को मान्यता पाउँछ । यस वर्ष ‘गौँथली’ र ‘पेन्सन पट्टा’पछि यो उपलब्धि हासिल गर्ने ‘कबड्डी ५’ तेस्रो नेपाली फिल्म बनेको छ । प्रदर्शनको दुई दिनमै यस्तो मान्यता पाउनु नेपाली फिल्मका लागि दुर्लभ उपलब्धि मानिएको छ ।

कात्तिक ६ गते, दसैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आएको फिल्मले अग्रिम टिकट बुकिङबाटै बलियो व्यापारको संकेत गरेको थियो । एक सयभन्दा बढी शो अग्रिम बुकिङमै हाउसफुल भएका थिए । त्यसपछि हलमै टिकट बिक्री हुने क्रमसमेत उत्साहजनक देखिँदा फिल्मले पहिलो दिन १ करोड ५० लाख रुपैयाँभन्दा बढीको ग्रस व्यापार गरेको जनाइएको छ । यो कमाइ यस वर्षकै सबैभन्दा ठूलो ओपनिङ हो ।

शनिबार दोस्रो दिन फिल्मका शो थपिएसँगै व्यापारमा थप उछाल आएको छ । उक्त दिन फिल्मले करिब १ करोड ७० लाख रुपैयाँ कमाएको बताइएको छ । यससँगै दुई दिनको कुल व्यापार ३ करोड रुपैयाँ नाघेको छ । आइतबार पनि देशभरका हलमा दर्शकको उपस्थिति उच्च रहेकाले तीन दिनमै ४ करोड रुपैयाँको आँकडा पार गर्ने अपेक्षा गरिएको छ ।

फिल्मको प्रचारप्रसारलाई तीव्र बनाउन कलाकारहरू विभिन्न सहरमा सक्रिय छन् । प्रदर्शनसँगै अभिनेता दयाहाङ राई पोखरामा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन् । पूर्वी नेपालमा विपिन कार्की र कमलमणि नेपालले प्रचारको जिम्मेवारी सम्हालेका छन् । निर्देशक रामबाबु गुरुङ, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ र पुष्कर गुरुङ भने काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् ।

बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको ‘कबड्डी ५’मा दयाहाङ राईसहित रिश्मा गुरुङ, मिरुना मगर, माओत्से गुरुङ, शिशिर बाङ्देल, कविता आले, अरुणा कार्की, रमेश बज्राचार्य, हरि मिजार, पञ्च सुब्बा गुरुङ, प्रमिला राई र ज्ञानु जोशीलगायत कलाकारको अभिनय छ ।

फिल्मका निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन् । सुरुवाती व्यापारले उत्साह जगाएसँगै अब फिल्मले आगामी दिनमा कस्तो कमाइ गर्छ भन्नेमा फिल्म क्षेत्रको ध्यान केन्द्रित भएको छ ।


सोमबार, १० कार्तिक २०८३
सम्बन्धित समाचार
Go