बलिउड अभिनेता आयुष्मान खुराना अभिनीत फिल्म ‘उड्ता तीर’ले नेपालमा प्रदर्शनको अनुमति पाउन सकेन। असोज ३० गते केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको अवलोकन गरेपछि सार्वजनिक प्रदर्शनका लागि अनुमति नदिने निर्णय गरेको हो। फिल्म भारतमा अक्टोबर २३ मा रिलिज हुँदैछ।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरक कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र पठाउँदै कानुनी व्यवस्थाअनुसार फिल्मको प्रदर्शन रोकिएको जानकारी गराएको छ। निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ (३) ले निषेध गरेका विषयवस्तु समावेश भएकाले प्रदर्शन अनुमति दिन नसकिएको पत्रमा उल्लेख छ।
उक्त कानुनी व्यवस्थाअनुसार मित्रराष्ट्रसँगको सुमधुर सम्बन्धमा असर पार्ने वा लैंगिक हिंसालाई प्रोत्साहन गर्ने विषयवस्तु समेटिएका चलचित्रलाई चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिन सक्ने प्रावधान छ। यद्यपि, फिल्मका विवादित अंश काटछाँट वा आवश्यक परिमार्जन गरिएको अवस्थामा समितिले पुनः परीक्षण गरी प्रदर्शन अनुमति दिन सक्ने व्यवस्था पनि ऐनमा छ।
आकाश कौशिकको निर्देशन तथा करण जोहरको निर्माण रहेको ‘उड्ता तीर’ले भारत र पाकिस्तानबीचको तनावलाई हास्य तथा जासुसी कथामार्फत प्रस्तुत गरेको छ। फिल्ममा पाकिस्तानको गुप्तचर निकाय आईएसआई र पाकिस्तानी सैन्य नेतृत्वमाथि व्यंग्य गरिएको विषयलाई प्रदर्शन अनुमति नदिनुको कारणका रूपमा उल्लेख गरिएको छ।
यस निर्णयसँगै फिल्म तत्कालका लागि नेपाली हलमा प्रदर्शन हुने बाटो बन्द भएको छ। निर्माण पक्षले फिल्ममा आवश्यक परिमार्जन गरेर पुनः प्रदर्शन अनुमतिका लागि प्रक्रिया अघि बढाउँछ वा बढाउँदैन भन्ने विषय भने स्पष्ट भइसकेको छैन।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd