बलिउड अभिनेता आयुष्मान खुराना अभिनीत फिल्म ‘उड्ता तीर’ले नेपालमा प्रदर्शन गर्न नपाउने भएको छ। केन्द्रीय चलचित्र जाँच समितिले फिल्मको अवलोकन गरेपछि असोज ३० गते प्रदर्शन अनुमति नदिने निर्णय गरेको हो। भारतमा भने यो फिल्म अक्टोबर २३ अर्थात् आज श’क।वा÷देखि प्रदर्शनमा आउँदैछ।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरक कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्राचार गर्दै फिल्मलाई प्रदर्शन अनुमति नदिने निर्णयबारे जानकारी गराएको छ। निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ (३) मा निषेध गरिएका विषयवस्तु समावेश भएकाले अनुमति दिन नसकिएको पत्रमा उल्लेख छ।
उक्त कानुनी व्यवस्थाअनुसार मित्रराष्ट्रसँगको सुमधुर सम्बन्धमा असर पार्ने वा लैंगिक हिंसालाई प्रोत्साहन गर्ने प्रकृतिका फिल्मलाई चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिन सक्ने प्रावधान छ। यद्यपि, फिल्मका सम्बन्धित दृश्य वा अंशमा आवश्यक काँटछाँट तथा परिमार्जन गरिएको अवस्थामा समितिले पुनः जाँच गरी प्रदर्शन अनुमति दिन सक्ने व्यवस्था पनि ऐनमा रहेको छ।
आकाश कौशिकको निर्देशन तथा करण जोहरको निर्माणमा तयार भएको ‘उड्ता तीर’ले भारत र पाकिस्तानबीचको तनावलाई हास्य तथा जासुसी कथाको माध्यमबाट प्रस्तुत गरेको छ। फिल्ममा पाकिस्तानको गुप्तचर निकाय आईएसआई र त्यहाँको सैन्य नेतृत्वलाई व्यंग्यात्मक रूपमा चित्रण गरिएको बताइएको छ।
यही विषयवस्तुलाई लिएर नेपालको चलचित्र जाँच समितिले फिल्मको प्रदर्शनमा रोक लगाएको जनाइएको छ। अब निर्माण पक्ष वा वितरकले फिल्ममा आवश्यक परिमार्जन गरेर पुनः जाँचका लागि प्रक्रिया अघि बढाउँछन् वा बढाउँदैनन् भन्ने विषय भने स्पष्ट भएको छैन।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd