logo

२०८३ मंसिर ७ आइतबार

सिन्दुरे जात्रा’को पहिलो झलक सार्वजनिक

सिन्दुरे जात्रा’को पहिलो झलक सार्वजनिक

  • kollywood_khabar
  • शनिबार, २२ कार्तिक २०८३
195
SHARES
सिन्दुरे जात्रा’को पहिलो झलक सार्वजनिक

नेपाली चलचित्र ‘सिन्दुरे जात्रा’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण टिमले सार्वजनिक गरेको फर्स्ट लुक पोस्टरमा चलचित्रका मुख्य कलाकार विजय बराल र अञ्जना बराइलीलाई भावुक अवस्थामा प्रस्तुत गरिएको छ ।

पोस्टरमा अञ्जना विजयको छातीमा टाँसिएर रोइरहेको देखिन्छिन् भने विजयको आँखामा पनि आँसु छ । दुवै पात्रको यो पीडादायी हाउभाउले चलचित्रको कथामा कुनै गम्भीर घटना वा भावनात्मक द्वन्द्व रहेको संकेत गर्छ ।

गाउँले परिवेश झल्काउने पोस्टरमा मेला वा जात्राको माहोलसमेत देख्न सकिन्छ । पृष्ठभूमिमा रहेको मन्दिर र त्यहाँ देखिएको मानिसहरूको भीडले कुनै धार्मिक वा सांस्कृतिक उत्सवको परिवेश प्रस्तुत गरेको छ । परम्परागत गहनामा सजिएकी अञ्जना र गाउँले पहिरनमा रहेका विजयको अवस्थाले उनीहरूको सामाजिक परिवेशलाई पनि संकेत गर्छ । अञ्जनाको बिग्रिएको कपाल र दुवैको मलिन अनुहारले कथामा अप्रत्याशित घटना घटेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल र अञ्जना बराइली मुख्य भूमिकामा छन् । बक्सअफिसमा सफल मानिएको यो जोडीको पर्दामा दोस्रो सहकार्य हो । यसअघि उनीहरूले सुपरहिट चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा एकसाथ अभिनय गरेका थिए ।

चलचित्रमा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ ।

सविन अधिकारी र वसन्त न्यौपानेले पटकथा तथा संवाद लेखेको चलचित्रको कथा निर्देशक सरोज पौडेलकै हो ।

सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह-निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन् । अनिश अधिकारीले लाइन निर्माताको जिम्मेवारी सम्हालेका छन् भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् ।

चलचित्रको छायांकन पदमबहादुर श्रेष्ठ (बाबु) ले गरेका हुन् । सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे क्रिएटिभ निर्देशक छन् । चलचित्रमा प्रशान्त सिवाकोटी, रिदम कँडेल र नन्दु परियारको संगीत रहनेछ ।

आगामी मंसिर १८ गते प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ । बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन् ।


शनिबार, २२ कार्तिक २०८३
सम्बन्धित समाचार
Go