logo

२०८३ मंसिर ७ आइतबार

खेमनाथ दाहाल ‘टीका गोपाल राष्ट्रिय गीत–संगीत पुरस्कार–२०८३’ बाट सम्मानित

खेमनाथ दाहाल ‘टीका गोपाल राष्ट्रिय गीत–संगीत पुरस्कार–२०८३’ बाट सम्मानित

  • kollywood_khabar
  • आइतबार, २३ कार्तिक २०८३
182
SHARES
खेमनाथ दाहाल ‘टीका गोपाल राष्ट्रिय गीत–संगीत पुरस्कार–२०८३’ बाट सम्मानित

वरिष्ठ साहित्यकार, महाकाव्यकार तथा गीतकार खेमनाथ दाहाल ‘टीका गोपाल राष्ट्रिय गीत–संगीत पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन् । नेपाली साहित्य र गीत–संगीतको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

मिलाप मासिकको आयोजनामा काठमाडौंमा आयोजित विशेष समारोहमा नेपाली कला क्षेत्रका अग्रज व्यक्तित्व चैतदेवी सिंह, वसुन्धरा भुसाल र भुवन चन्दको प्रमुख आतिथ्यतामा दाहाललाई सम्मान गरिएको थियो ।

लोकप्रिय गायक तथा संगीतकार कन्हैया सिंह र गायिका अञ्जना गुरुङले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार दाहाललाई प्रदान गरिएको हो । कार्यक्रममा उनलाई ताम्रपत्र, दोसल्ला, खादा, रुद्राक्ष माला तथा नगद राशिसहित सम्मान गरिएको थियो । सम्मान प्रदान गर्ने कार्यक्रममा मिलाप मासिकका सम्पादक एवं सभापति कृष्ण भुसाल, टीका–गोपाल फाउण्डेशनकी अध्यक्ष गीता सिंह र संगीतकार सन्तोष श्रेष्ठलगायतको उपस्थिति थियो ।

फाउण्डेशनकी अध्यक्ष गीता सिंहले साहित्य, संस्कृति, दर्शन र मानवीय संवेदनाका विषयलाई सिर्जनामार्फत उजागर गर्दै नेपाली वाङ्मयको विकासमा दाहालले पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको बताइन् ।

सम्मान ग्रहणपछि दाहालले आयोजकप्रति आभार व्यक्त गरे । पुरस्कार र सम्मान प्राप्त गर्ने उद्देश्यले आफूले साहित्य सिर्जना नगरेको उल्लेख गर्दै उनले निरन्तर सिर्जनाकर्ममा लागिरहँदा विभिन्न सम्मान प्राप्त भएको बताए । उनले आफ्नो मन्तव्यमा इहलोक र परलोकका प्रसंगसमेत प्रस्तुत गरेका थिए ।

नेपाली साहित्यमा कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास र नियात्रालगायतका विधामा कलम चलाउँदै आएका दाहाल बहुआयामिक स्रष्टाका रूपमा परिचित छन् । उनका ‘श्रद्धाञ्जलि’, ‘हावर्डको चौतारीमा’ र ‘म त बन्दी भएको छु’ कवितासंग्रह, ‘रश्मी’ खण्डकाव्य, ‘योद्धा’ काव्य, ‘श्वेतपत्र’ महाकाव्य, ‘यात्राको सिँढी’ नियात्रा, ‘अहोरात्र’ उपन्यास तथा ‘सिर्जनामा दृष्टि’ भूमिका लेखनसंग्रह प्रकाशित छन् ।

उनको साहित्यिक योगदानमाथि पनि विभिन्न अध्ययन तथा समालोचनात्मक कृति सार्वजनिक भइसकेका छन् । ‘नव छायावादको छवि’, ‘खेमनाथ दाहाल : सिर्जना र मूल्यांकन’ र ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’ लगायतका पुस्तकले उनको सिर्जनात्मक व्यक्तित्व र साहित्यिक यात्राको चर्चा गरेका छन् ।

दाहालको सिर्जनात्मक यात्रा साहित्यमा मात्रै सीमित छैन । उनका काव्यिक रचनालाई संगीतसँग जोडेर तयार पारिएको गीति एल्बम ‘जागृति’ समेत सार्वजनिक भइसकेको छ । ‘श्वेतपत्र’ महाकाव्य र ‘योद्धा’ काव्यका भाव तथा रचनाबाट तयार पारिएका गीतहरू एल्बममा समेटिएका छन् ।

एल्बममा ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’, ‘बित्छ बिहान आमाको’, ‘फुल्छ बागमा फूल’ र ‘गाउँछौ अब लौ आमाका गीत’ लगायतका गीत छन् । तीमध्ये ‘बुद्धको देश नेपाल’, ‘लालीगुराँसको साटो’ र ‘फुल्छ बागमा फूल’मा सन्तोष श्रेष्ठको स्वर रहेको छ । ‘बित्छ बिहान आमाको’मा ज्ञानु राणा तथा ‘गाउँछौ अब लौ आमाका गीत’मा रमेश पाठकले स्वर दिएका छन् ।

नेपाली गीत–संगीतको प्रवर्द्धनसँगै स्रष्टालाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको यस पुरस्कारबाट यसअघि संगीतकार सन्तोष श्रेष्ठ र गीतकार डा. उपाध्याय सम्मानित भइसकेका छन् ।

साहित्य र संगीतलाई समानान्तर रूपमा अघि बढाउँदै आएका दाहाललाई प्रदान गरिएको यस वर्षको सम्मानले नेपाली सिर्जनात्मक क्षेत्रको योगदानलाई थप उजागर गरेको छ ।


आइतबार, २३ कार्तिक २०८३
सम्बन्धित समाचार
Go