logo

२०८३ मंसिर ७ आइतबार

‘तिरिमिरी झ्याइँ’ माघ २८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने

‘तिरिमिरी झ्याइँ’ माघ २८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने

  • kollywood_khabar
  • आइतबार, २३ कार्तिक २०८३
169
SHARES
‘तिरिमिरी झ्याइँ’ माघ २८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने

हास्यव्यङ्ग्यमा आधारित नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’ले प्रदर्शन मिति घोषणा गरेको छ । निर्माण पक्षले चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २८ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने जानकारी दिएको हो ।

समीरको निर्देशनमा बनेको चलचित्रको पोस्टरमा मुख्य कलाकारहरूलाई फलामे बारभित्र कैद गरिएको अवस्थामा प्रस्तुत गरिएको छ । पोस्टरमा आभास अधिकारी, सुमन कोइराला, रियर राई, सुरज चौलागाईं र सरोज अर्याल देखिएका छन् । उनीहरूको अनुहारमा देखिने फरक–फरक हाउभाउले चलचित्रको हास्यप्रधान कथावस्तुको संकेत गर्छ । पोस्टरको डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले गरेका हुन् ।

आभास अधिकारीको कथा तथा अवधारणामा तयार भएको चलचित्रले समकालीन नेपाली समाजका विभिन्न घटना, प्रवृत्ति र रमाइला पक्षलाई हास्यव्यङ्ग्यको माध्यमबाट प्रस्तुत गर्ने बताइएको छ । दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै सामाजिक परिवेशका विषयमा सोच्न बाध्य बनाउने निर्माण पक्षको अपेक्षा छ ।

होराइजन मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रबाट चर्चित हास्यकलाकार ‘दले दाई’ अर्थात् सुमन कोइरालाले ठूलो पर्दामा डेब्यु गर्दैछन् । चलचित्रमा वरिष्ठ अभिनेता धिरेन शाक्यसँगै आभास अधिकारी, सरोज अर्याल, रियर राई, सुमन कोइराला, सुरज चौलागाईं, राज न्यौपाने, जय राम ढकाल, राजश्री थापा र घनश्याम जोशीलगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्रको छायांकन विशाल कक्षपतिले गरेका छन् भने संगीत अभिषेक कार्कीको छ । गणेश उपाध्याय, प्रेमबहादुर थापा र सुमन कोइरालाले संयुक्त रूपमा पटकथा तथा संवाद लेखेका हुन् । सियोन श्रेष्ठले कोरियोग्राफीको जिम्मेवारी सम्हालेका छन् ।

प्रद्युम्न बोगटी (प्रविन) निर्माता रहेको चलचित्रमा आभास अधिकारी कार्यकारी निर्माताका रूपमा छन् । भूपेन्द्र सिटौला (नीरज), शम्भु कार्की, विनोद बुढाथोकी, दिनेश श्रेष्ठ र अनिल शर्मा सह–निर्माताका रूपमा जोडिएका छन् ।

हास्यव्यङ्ग्य र सामाजिक विषयवस्तुलाई पर्दामा उतार्ने लक्ष्यसहित निर्माण गरिएको ‘तिरिमिरी झ्याइँ’ले माघ २८ गतेदेखि दर्शकलाई कस्तो मनोरञ्जन दिनेछ, त्यसका लागि भने चलचित्रको प्रदर्शन कुर्नुपर्नेछ ।


आइतबार, २३ कार्तिक २०८३
सम्बन्धित समाचार
Go