अभिनेता हरिवंश आचार्यले चलचित्र ‘पाँच पाण्डव’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको बताएका छन् । प्रदर्शनरत चलचित्रको प्रतिक्रिया बुझ्न दर्शकमाझ पुगेका उनले परिवारसहित हलमा आएका दर्शकले फिल्म रुचाएको बताए ।
हलमा दर्शकसँग भेटघाट गर्दै हरिवंशले चलचित्र हेरेपछि दर्शकले राम्रो प्रतिक्रिया दिएको सुनाए । उनका अनुसार दर्शकले ‘पाँच पाण्डव’लाई परिवारका सबै सदस्यसँग बसेर हेर्न मिल्ने पारिवारिक कथामा आधारित चलचित्रका रूपमा लिएका छन् ।
चलचित्र प्रदर्शनअघि धर्मसँग जोडेर उठेको विवादबारे पनि हरिवंशले आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले फिल्ममा कुनै धर्म वा धार्मिक आस्थालाई होच्याउने काम नगरिएको स्पष्ट पारे । विवादका क्रममा उठाइएका आशंकालाई चलचित्र हेरेपछि दर्शकले नै गलत साबित गरिदिएको उनको भनाइ छ ।
‘धर्मको विषयमा नराम्रो देखाउने वा कसैको चित्त दुखाउने काम गरिएको छैन,’ हरिवंशले भने, ‘कसैको चित्त दुखाउने काम गर्नु पनि हुँदैन ।’ चलचित्र हेरेका दर्शकले पनि धार्मिक विषयलाई लिएर आपत्ति जनाउनुपर्ने कुनै प्रसंग नरहेको प्रतिक्रिया दिएको उनले बताए ।
वसन्त निरौलाको निर्देशनमा बनेको ‘पाँच पाण्डव’मा हरिवंशसँगै महेश त्रिपाठी, जितु नेपाल, आर्यन सिग्देल, सुशील सिटौला, विनोद न्यौपाने र इभा गिरीलगायत कलाकार मुख्य भूमिकामा छन् । त्यस्तै दीपाश्री निरौला, सरिता गिरी, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय रहेको छ ।
काली रानी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ हुन् । नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए ।
सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्रलाई सामाजिक कथामा आधारित फिल्मका रूपमा प्रस्तुत गरिएको छ । महाभारतका पाँच पाण्डवका चरित्र र प्रतीकलाई आधार बनाएर समकालीन नेपाली समाजका घटना र प्रवृत्तिलाई पर्दामा उतारिएको लेखक पौडेलले बताएका छन् ।
चलचित्रको छायांकन श्याम तामाङले गरेका हुन् । सम्पादन तथा रङ्ग संयोजन सुप्रिम पराजुलीको रहेको छ । द्वन्द्व निर्देशन सम्राट बस्नेत, कोरियोग्राफी गम्भीर विष्ट र विक्रम स्वाँर, संगीत अर्जुन पोखरेल तथा साउन्ड डिजाइन उत्तम न्यौपानेको छ । यसैगरी सुजिल कर्माचार्यले ब्याकग्राउन्ड म्युजिक, पुकार धिमालले भीएफएक्स, रोहित राज गौतमले एचओपी र विष्णु बुढाथोकीले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन् ।
धार्मिक विषयवस्तुलाई लिएर प्रदर्शनअघि चर्चा र विवादमा आएको ‘पाँच पाण्डव’ले प्रदर्शनपछि दर्शकबाट कस्तो व्यावसायिक साथ पाउँछ भन्ने चासो भने बाँकी नै छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd