निर्देशकका रूपमा डेब्यू गर्न लागेका धिरज राजवंशीले आफ्नो पहिलो फिल्म ‘हिमालयन गोल्ड’मार्फत नेपाली सिनेमामा फरक विषय प्रस्तुत गर्ने प्रयास गरेका छन् । आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने यस फिल्मको कथा यार्सागुम्बा संकलनका क्रममा हिमाली क्षेत्रमा हुने लुटपाट, संघर्ष र प्रतिशोधमा आधारित छ ।
अमेरिकाको लसएन्जल्समा फिल्म निर्देशन तथा निर्माणसम्बन्धी अध्ययन गरेका धिरज नेपाल फर्किएपछि नयाँ र अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्न सक्ने नेपाली कथा खोजिरहेका थिए । यही क्रममा उनी फिल्म ‘खुस्मा’को सुटिङका लागि रुकुम पुगे । त्यहाँको बसाइ नै ‘हिमालयन गोल्ड’ निर्माणको आधार बन्यो ।
रुकुममा रहँदा उनले स्थानीयसँगको कुराकानीबाट यार्सागुम्बा संकलनसँग जोडिएका अनेक घटना र संघर्षबारे जानकारी पाए । विशेषगरी यार्सागुम्बा टिप्न जाने मानिसमाथि हुने लुटपाट र सुरक्षाको अभावले उनलाई यस विषयमा फिल्म बनाउन प्रेरित गर्यो ।
निर्देशक राजवंशीका अनुसार सन् १९९० को दशकतिर यार्सागुम्बा संकलनका लागि रुकुम, डोल्पा, रोल्पा र मनाङका मानिसहरू विभिन्न हिमाली क्षेत्रमा पुग्थे । तर, सरकारी सुरक्षाको उचित व्यवस्था नहुँदा उनीहरू लुटेराहरूको निशानामा पर्ने गरेका थिए । फिल्मले त्यही समयको सामाजिक परिवेश र स्थानीय समुदायको संघर्षलाई पर्दामा उतारेको छ ।
कथा तयार पार्न उनलाई एक वर्षभन्दा बढी समय लाग्यो । सुटिङअघि उनी चार पटकसम्म मुस्ताङ पुगेका थिए । सुरुमा डोल्पामा छायांकन गर्ने योजना भए पनि भौगोलिक कठिनाइ, यातायातको असुविधा र उत्पादन खर्चका कारण लोकेसन परिवर्तन गरिएको थियो । फिल्मको अधिकांश छायांकन ४ हजार ८ सय मिटरभन्दा माथिको उचाइमा गरिएको निर्देशकको भनाइ छ । लोमान्थाङ र त्यसभन्दा माथिका क्षेत्रमा व्यावसायिक रूपमा छायांकन गरिएको फिल्ममध्ये यो पहिलो हुन सक्ने उनको दाबी छ ।
फिल्ममा परीक्षा लिम्बु मुख्य भूमिकामा छिन् । ‘ऊनको स्वीटर’मा उनको अभिनय देखेपछि धिरजले उनलाई मुख्य पात्रका रूपमा छनोट गरेका थिए । फिल्ममा परीक्षाको चरित्रले परिवारमाथि आइपरेको संकटसँग जुध्दै प्रतिशोधको बाटो रोज्छ । यार्सागुम्बा लुट्दै आएका चार जना लुटेराको जालमा उनको परिवारसमेत परेपछि कथाले नयाँ मोड लिन्छ ।
लुटेरा समूहका सदस्यका रूपमा कर्मा शाक्य र सजन थापा मगर देखिँदैछन् भने सुनिल थापा पनि महत्वपूर्ण भूमिकामा छन् । निर्देशकले स्क्रिप्ट लेख्दादेखि नै कर्मालाई एउटा पात्रका रूपमा परिकल्पना गरेका थिए । त्यस्तै, ‘पशुपति प्रसाद’ हेरेपछि सजनलाई आफ्नो फिल्ममा लिने इच्छा बनाएको उनले बताएका छन् ।
हिमाली क्षेत्रमा छायांकन गर्नु निर्माण टोलीका लागि सहज थिएन । अत्यधिक चिसो र उच्च उचाइका कारण कलाकार तथा प्राविधिकको स्वास्थ्यमा विशेष ध्यान दिनुपरेको थियो । छायांकन अवधिभर प्रोडक्सन म्यानेजरले दैनिक रूपमा टोलीका सदस्यको अक्सिजन लेभल जाँच गर्ने व्यवस्था मिलाएका थिए ।
धिरज ‘हिमालयन गोल्ड’लाई व्यावसायिक फिल्मकै रूपमा लिन्छन् । तर, यसको कथावाचन र विधा नेपाली सिनेमामा प्रचलित शैलीभन्दा फरक रहेको उनको दाबी छ । उनका अनुसार नेपाली फिल्ममा एउटै खालका विषय दोहोरिँदै आएका बेला यार्सागुम्बा र त्यससँग जोडिएको संघर्षलाई नयाँ ढंगले प्रस्तुत गर्नु चुनौतीपूर्ण काम थियो ।
फिल्मको छायांकनका क्रममा मुस्ताङको विकट क्षेत्र टकमारमा समेत तीन दिन बिताएको निर्देशकले बताएका छन् । त्यहाँको प्राकृतिक सुन्दरता र स्थानीयको जीवनशैलीले आफूलाई प्रभावित बनाएको भन्दै उनले उक्त क्षेत्रको पर्यटन प्रवर्द्धनमा पनि ध्यान दिनुपर्ने धारणा राखेका छन् ।
अ ह्वाइट एलिफेन्ट मोसन पिक्चरको ब्यानरमा बनेको फिल्ममा सुनिल थापा, कर्मा शाक्य, मेनुका प्रधान, परीक्षा लिम्बु, राहुल एन. मुखिया, सजन थापा मगर, अङ्कित खड्कालगायत कलाकारको अभिनय छ । मीनबहादुर भाम निर्माता रहेको फिल्ममा धिरज राजवंशीकै कथा तथा दीपेन्द्र गौचन र धिरज राजवंशीको पटकथा छ ।
विशेष कुरा, यो दिग्गज अभिनेता सुनिल थापाले अभिनय गरेको अन्तिम फिल्मसमेत हो । हिमाली परिवेशमा निर्माण गरिएको यस सर्भाइभल थ्रिलरलाई भारतमा प्रतिष्ठित वितरण कम्पनी ए ए फिल्म्सले प्रदर्शन गर्नेछ भने नेपालमा एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने जिम्मेवारी लिएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd