logo

२०८३ मंसिर ७ आइतबार

‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक

‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक

91
SHARES
‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक

चलचित्र ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ। यसअघि ‘बाँसैको सुप्लाखे’ बोलको गीत सार्वजनिक गरेको निर्माण टिमले अब टिजरमार्फत चलचित्रको कथावस्तु र प्रमुख पात्रहरूको झलक दर्शकमाझ ल्याएको हो।

सार्वजनिक टिजरमा अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइली र अभिनेता विनोद न्यौपाने केन्द्रमा छन्। प्रेम, विवाह, खुसी, धोका र वियोगका भावनात्मक घटनाक्रमलाई टिजरमा प्रस्तुत गरिएको छ।

मौलिक नेपाली संस्कृति र परम्पराको झल्कोबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाबीचको प्रेम सम्बन्ध, विवाह र पारिवारिक खुसी देखाइएको छ। तर, कथामा विनोद न्यौपानेको प्रवेशसँगै घटनाक्रमले नयाँ मोड लिन्छ। उनको आगमनपछि विजयको जीवनमा वियोग र अञ्जनाको जीवनमा धोका तथा पीडाले स्थान पाउँछ।

प्रेमिल वातावरणबाट सुरु भएको टिजर अन्त्यतिर भावनात्मक द्वन्द्व र पात्रहरूको पीडामा पुगेर टुंगिन्छ। ग्रामीण परिवेश र गाउँले जनजीवनको प्रस्तुतिले दर्शकलाई पुरानो समयको सम्झनासमेत गराउने देखिन्छ।

सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल र अञ्जना बराइलीको जोडी फेरि एकपटक पर्दामा देखिन लागेको हो। नेपाली बक्सअफिसमा सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’पछि उनीहरूको यो दोस्रो सहकार्य हो।

चलचित्रमा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रको कथा निर्देशक पौडेलकै हो भने पटकथा तथा संवाद सबिन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन्। सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता नेम महर्जन हुन्। राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन्। अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन्।

दिनेश खड्का कार्यकारी निर्माता रहेको चलचित्रमा पदमबहादुर श्रेष्ठ (बाबु) को छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र विशाल घिमिरेको क्रिएटिभ निर्देशन रहेको छ। चलचित्रमा प्रशान्त सिवाकोटीको संगीत सुन्न सकिनेछ।

आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने चलचित्रको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ। बिग मुभिज थिएटर पार्टनर र ओएसआर डिजिटल डिजिटल पार्टनरका रूपमा जोडिएका छन्।


बुधबार, ३ मंसिर २०८३
सम्बन्धित समाचार
Go