निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशकीय चलचित्र ‘हिमालयन गोल्ड’ले प्रिमियरमै नेपाली चलचित्र क्षेत्रका कलाकार तथा फिल्मकर्मीको प्रशंसा पाएको छ। बुधबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आयोजित विशेष शोमा सहभागी सेलिब्रेटीहरूले चलचित्रको कथावस्तु, छायाङ्कन, कलाकारको अभिनय र प्रस्तुतिलाई उत्कृष्ट भन्दै प्रशंसा गरेका हुन्।
प्रिमियरमा सहभागी वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘हिमालयन गोल्ड’लाई पछिल्लो समय प्रदर्शन भइरहेका नेपाली चलचित्रभन्दा फरक स्वादको फिल्मका रूपमा चित्रण गरे। हिमाली दृश्य र चलचित्रको प्रस्तुतिले आफूलाई प्रभावित बनाएको बताउँदै उनले यसको स्तर अन्तर्राष्ट्रिय फिल्मसँग तुलना गर्न सकिने प्रतिक्रिया दिए।
चलचित्रमा प्रयोग भएको भाषा केही कडा भए पनि समग्रमा फिल्म राम्रो लागेको उनको भनाइ थियो। विशेषगरी यार्सागुम्बा संकलनका क्रममा हुने लुटपाट, झगडा र मानवीय क्षतिका घटनालाई चलचित्रले प्रभावकारी रूपमा प्रस्तुत गरेको उनले बताए। अभिनेत्री परीक्षा लिम्बुको अभिनयसमेत आफूलाई मन परेको उल्लेख गर्दै उनले विदेशी दर्शकमाझ चलचित्रले राम्रो सम्भावना बोकेको धारणा राखे।
निर्देशक दीपेन्द्र के खनालले भने ‘हिमालयन गोल्ड’लाई आर्ट हाउस र व्यावसायिक चलचित्रको सुन्दर संयोजनका रूपमा व्याख्या गरे। ट्रेलर हेर्दा पूर्णतः आर्ट हाउस शैलीको फिल्म हुन सक्ने अनुमान गरे पनि चलचित्र हेर्दा मनोरञ्जन र कलात्मक पक्ष दुवै सन्तुलित पाएको उनको प्रतिक्रिया थियो।
कथा, सिनेम्याटोग्राफी, ध्वनि, ब्याकग्राउन्ड स्कोर र कलाकारको अभिनयको प्रशंसा गर्दै उनले यसलाई पूर्ण प्याकेज भएको चलचित्र बताए। कर्मा शाक्य, सजनलगायतका कलाकार र नयाँ अभिनेत्रीको अभिनयले आफूलाई विशेष प्रभावित बनाएको उनको भनाइ थियो।
डेब्यू फिल्मबाटै फरक विषय र शैली प्रस्तुत गरेका निर्देशक राजवंशीलाई बधाई दिँदै खनालले युवा पुस्तालाई चलचित्र हेर्न आग्रहसमेत गरे। नेपाली फिल्म गीत र परम्परागत फर्मुलामा मात्रै सीमित छैनन् भन्ने प्रमाणका रूपमा ‘हिमालयन गोल्ड’लाई लिन सकिने उनको भनाइ थियो। नयाँ निर्देशकले नयाँ विषयवस्तु लिएर आउँदा दर्शकले साथ नदिए उनीहरू निरुत्साहित हुन सक्ने भन्दै उनले दर्शकलाई नयाँ प्रयासको सम्मान गर्न अपिल गरे।
यद्यपि, चलचित्रले एडल्ट सर्टिफिकेट पाएकाले पारिवारिक दर्शकभन्दा युवा पुस्तालाई लक्षित गरेको उनले स्पष्ट पारे। चलचित्रमा समावेश सिचुएसनल कमेडीले समेत दर्शकलाई मनोरञ्जन दिने उनको प्रतिक्रिया थियो।
अभिनेत्री लक्ष्मी वर्देवाले नेपाली चलचित्रमा विरलै देख्न पाइने स्तरको सिनेम्याटोग्राफी ‘हिमालयन गोल्ड’मा अनुभव गरेको बताइन्। आफ्नै देशभित्र घट्ने अपराध र स्थानीय परिवेशसँग जोडिएको विषयलाई पर्दामा ल्याउनु प्रशंसनीय रहेको उनको भनाइ थियो। कन्टेन्टको खोजी भइरहेका बेला नेपाली माटोकै कथा उठाएर फिल्म बनाइनु सकारात्मक भएको उनले बताइन्। परीक्षा लिम्बु, कर्मा शाक्य, सजनलगायतका कलाकारको अभिनय र साना भूमिकामा देखिएका कलाकारको कामसमेत उनले रुचाइन्।
अभिनेता नाजिर हुसेनले नेपाली सिनेमामा दर्शकले खोजिरहेको फरक स्वाद ‘हिमालयन गोल्ड’ले दिएको प्रतिक्रिया दिए। यार्सागुम्बासँग सम्बन्धित घटनाबारे आफूले पहिल्यै सुने पनि त्यसलाई निर्देशकले निकै सुन्दर ढंगले पर्दामा उतारेको उनले बताए।
विशेषगरी चलचित्रको अन्त्यमा प्रस्तुत गरिएको महिलाको दृष्टिकोणले आफूलाई प्रभावित बनाएको नाजिरको भनाइ थियो। महिला पात्रको पक्षलाई पुरुष पात्रको प्रभावले ओझेलमा नपारेको भन्दै उनले यसको अन्त्यलाई प्रशंसनीय बताए। केही अपशब्द प्रयोग गरिएका दृश्य भने उमेरअनुसारका दर्शकलाई असहज लाग्न सक्ने उनको धारणा थियो।
अभिनेत्री कविता नेपालीले चलचित्रको सबैभन्दा बलियो पक्ष हिमाली क्षेत्रमा गरिएको छायाङ्कन र त्यसका लागि निर्माण टिमले गरेको मेहनत भएको बताइन्। कठिन भूगोलमा पुगेर नेपालको प्राकृतिक सुन्दरतालाई पर्दामा उतार्नु आफैँमा चुनौतीपूर्ण काम भएको उनको प्रतिक्रिया थियो। विदेशी फिल्ममेकरले खोज्ने खालका प्राकृतिक दृश्य नेपालमै उपलब्ध छन् भन्ने कुरा चलचित्रले देखाएको उनले उल्लेख गरिन्।
प्रिमियरमा सहभागी कलाकारहरूले स्वर्गीय अभिनेता सुनिल थापालाई पनि विशेष रूपमा सम्झिए। ‘हिमालयन गोल्ड’ थापाको अन्तिम चलचित्र भएकाले पर्दामा उनलाई देख्दा उनको अभाव महसुस भएको अभिनेत्री कविताले बताइन्। आफ्नो पहिलो चलचित्रमै सुनिल थापासँग अभिनय गर्ने अवसर पाउनु सौभाग्य भएको उनको भनाइ थियो।
अभिनेता नाजिर हुसेनले कलाकारको भौतिक उपस्थिति नरहे पनि उनीहरूले क्यामेरामा छाडेको काम र योगदान सधैँ जीवित रहने बताए। चलचित्रमा सुनिल थापालाई देख्दा उनी अझै आफूसँगै रहेको अनुभूति हुने उनको प्रतिक्रिया थियो।
सुनिल थापाका छोरा अनमोल थापाका लागि भने प्रिमियर भावुक क्षण बन्यो। ठूलो पर्दामा अन्तिम पटक बुवाको अभिनय हेर्दा पुराना सम्झना ताजा भएको उनले सुनाए। बुवाको आवाज र बोल्ने शैलीले आफूलाई विगतका क्षणमा फर्काएको बताउँदै उनले यो चलचित्र आफ्ना लागि विशेष रहेको उल्लेख गरे।
अनमोलले ‘हिमालयन गोल्ड’लाई परम्परागत नेपाली फिल्मभन्दा फरक शैलीमा निर्माण गरिएको चलचित्रका रूपमा व्याख्या गरे। यसको प्रस्तुति हलिउड फिल्मको झल्को दिने खालको रहेको र नेपालभित्रको विशेष विषयलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने प्रयास प्रशंसनीय भएको उनले बताए।
सन् १९९० को दशकको परिवेशमा आधारित ‘हिमालयन गोल्ड’ले यार्सागुम्बा संकलनका लागि हिमाली क्षेत्रमा पुग्ने व्यक्तिहरूले भोग्नुपर्ने लुटपाट, असुरक्षा र संघर्षको कथा प्रस्तुत गर्छ। रुकुम, डोल्पा, रोल्पा र मनाङका समुदायको यार्सागुम्बासँग जोडिएको जीवनशैली तथा निर्भरतालाई समेत चलचित्रमा समेटिएको छ। समुद्री सतहबाट करिब ४ हजार ८०० फिटमाथिको हिमाली भूभागमा छायाङ्कन गरिएको चलचित्रले नेपालको प्राकृतिक सौन्दर्यसँगै त्यहाँका कठिन जीवनका पाटोलाई उजागर गर्ने प्रयास गरेको छ।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रमा कर्मा शाक्य, परीक्षा लिम्बु, स्वर्गीय सुनिल थापा, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायतको अभिनय रहेको छ।
धीराज राजवंशीको कथा तथा निर्देशन रहेको चलचित्रको पटकथा दीपेन्द्र गौचन र राजवंशीले तयार पारेका हुन्। मीनबहादुर भाम निर्माता, सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता रहेका छन्।
अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरिएको चलचित्रको भारत वितरणको जिम्मा चर्चित कम्पनी एए फिल्म्सले लिएको छ। यसअघि ‘बाहुबली’, ‘आरआरआर’ र ‘केजीएफ’ जस्ता सफल चलचित्र वितरण गरिसकेको कम्पनीले ‘हिमालयन गोल्ड’लाई भारतीय बजारमा पुर्याउनेछ। नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरण गर्नेछन्।
नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्रको अग्रिम टिकट बिक्रीसमेत सुरु भइसकेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd