दिवंगत अभिनेता सुनील थापाको अन्तिम अभिनय रहेको चलचित्र ‘हिमालयन गोल्ड’ शुक्रबारदेखि नेपाल र भारतका सिनेमा हलमा प्रदर्शनमा आएको छ। थापाको पर्दामा देखिने अन्तिम चलचित्र भएकाले पनि यसले नेपाली दर्शकमाझ विशेष महत्व राखेको छ।
निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशकीय चलचित्र ‘हिमालयन गोल्ड’ थ्रिलर तथा ड्रामा विधामा तयार पारिएको हो। हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बाको संकलन र त्यससँग जोडिएको स्वार्थ, अपराध तथा संघर्षलाई चलचित्रले मुख्य विषय बनाएको छ।
सन् १९९० को दशकको पृष्ठभूमिमा तयार भएको चलचित्रमा यार्सागुम्बा संकलनका क्रममा हुने लुटपाट, असुरक्षा र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई प्रस्तुत गरिएको छ। आफ्नो परिवार र मेहनतले संकलन गरेको यार्सागुम्बा जोगाउन एक युवतीले निर्दयी समूहसँग गर्ने संघर्ष चलचित्रको केन्द्रीय कथा हो। अस्तित्वको लडाइँ, प्रतिशोध र साहसलाई समेत कथामा समेटिएको छ।
चलचित्रले प्रदर्शनअघि नै नेपाल र भारतमा सेन्सर स्वीकृति प्राप्त गरिसकेको छ। नेपालमा एडल्ट (ए) सर्टिफिकेट पाएको यस चलचित्रले भारतमा भने यूए १६ प्लस प्रमाणपत्र प्राप्त गरेको छ।
चलचित्रमा स्वर्गीय सुनील थापासँगै कर्मा शाक्य, परीक्षा लिम्बु, मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनील तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्याललगायत कलाकारको अभिनय रहेको छ।
करिब ४ हजार ८०० मिटर उचाइको हिमाली भूभागमा छायाङ्कन गरिएको चलचित्रले रुकुम, डोल्पा, रोल्पा र मनाङका स्थानीय समुदायको जीवनशैलीलाई पनि समेटेको छ। विशेषगरी यार्सागुम्बासँग जोडिएको स्थानीयको आर्थिक निर्भरता र त्यसले सिर्जना गर्ने चुनौतीलाई चलचित्रमा चित्रण गरिएको छ।
यसअघि बुधबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा आयोजित प्रिमियर शोमा सहभागी कलाकार तथा सेलिब्रेटीले चलचित्रको खुलेर प्रशंसा गरेका थिए। उनीहरूले हिमाली दृश्य, छायाङ्कन, कथावस्तु र कलाकारको अभिनयलाई चलचित्रका बलिया पक्षका रूपमा उल्लेख गरेका थिए।
ह्वाइट एलिफेन्ट मोसन पिक्चर प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा निर्देशन धीराज राजवंशीको हो। पटकथा दीपेन्द्र गौचन र राजवंशीले संयुक्त रूपमा तयार पारेका हुन्। मीनबहादुर भाम निर्माता, सुयश ज्ञवाली सहनिर्माता र राजु राजवंशी कार्यकारी निर्माता रहेका छन्।
अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरिएको चलचित्रको भारत वितरणको जिम्मा प्रतिष्ठित कम्पनी एए फिल्म्सले लिएको छ। नेपालमा एप्पल इन्टरटेनमेन्ट, जापानमा टोकियो ड्रिम इन्टरटेनमेन्ट र मध्यपूर्वमा फार्स फिल्म मोसन पिक्चर्सले वितरण गरिरहेका छन्।
सुनील थापाको अन्तिम अभिनय, हिमाली परिवेश र यार्सागुम्बाको पृष्ठभूमिमा तयार भएको फरक कथावस्तुका कारण ‘हिमालयन गोल्ड’ अहिले नेपाली चलचित्र क्षेत्रमा चासोको विषय बनेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd