सर्वकालीन सफल चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको निर्देशनमा तयार भएको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक गरिएको छ। आगामी मंसिर १८ गते अर्थात् डिसेम्बर ४ देखि प्रदर्शनमा आउने फिल्मको टिजरले प्रेम, सम्बन्ध, धोका र विछोडको कथा प्रस्तुत गर्ने संकेत गरेको छ।
टिजरको सुरुवात गाउँमा कटुवालले सूचना सुनाएको दृश्यबाट हुन्छ। त्यसपछि नवविवाहित विजय बराल र अञ्जना बराइली बिहेको पहिलो रात प्रेमिल संवादमा रमाइरहेको देखिन्छन्। तर, उनीहरूको खुसी धेरै समय टिकेको देखिँदैन। लगत्तै अञ्जना विनोद न्यौपानेको पछिपछि लागेको दृश्यले कथामा नयाँ मोड आउने संकेत गर्छ।
टिजरको अन्त्यतिर अञ्जना चर्को स्वरमा रोइरहेको र विजय भावुक मुद्रामा देखिन्छन्। यी दृश्यले वैवाहिक सम्बन्धमा आउने संकट, प्रेममा उत्पन्न हुने अविश्वास र त्यसले निम्त्याउने पीडालाई फिल्मको मुख्य विषय बनाइएको अनुमान गर्न सकिन्छ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रमा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल, अनिता गिरी, विनोद परियार र यूना खड्कालगायतका कलाकारको अभिनय छ। फिल्मका निर्माता नेम महर्जन हुन्।
निर्देशक सरोज पौडेलकै कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन्। पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत, स्मृति तिमिल्सिना (गुरुआमा)को कोरियोग्राफी र सुप्रिम पराजुलीको रंग संयोजन रहेको छ।
फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सह-निर्माताका रूपमा रहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd