आगामी मंसिर ११ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘सारथी’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले फिल्मको कथावस्तु र पात्रहरूको सम्बन्धलाई उजागर गरेको छ। ग्रामीण परिवेशमा तयार भएको फिल्मले विशेषगरी आमा–छोराबीचको आत्मीय सम्बन्ध र बाबु–छोराबीचको संघर्षलाई केन्द्रमा राखेको देखिन्छ।
‘कसको भुँडी बोकेको हो र ?’ भन्ने संवादबाट सुरु हुने ट्रेलरले विवाहअघि गर्भवती भएकी महिलाले समाजबाट भोग्नुपर्ने अपहेलना र सामाजिक विभेदको कथा उठाएको संकेत गर्छ। आमाबाट टाढिएका बाबुसँग छोराले गर्ने संघर्ष, आमाप्रतिको उसको माया र जिम्मेवारीले कथालाई भावनात्मक बनाएको छ।
कुमार गजुरेलको निर्देशनमा बनेको फिल्ममा निरुता सिंह, उत्तम प्रधान, गिरी विश्वकर्मा, गायत्री जोशी, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई र आशा विश्वकर्मालगायत कलाकारको अभिनय छ।
यस चलचित्रमार्फत अभिनेत्री निरुता सिंह र अभिनेता उत्तम प्रधान झन्डै दुई दशकपछि पुनः ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन्। उनीहरूको पुनरागमनलाई पनि फिल्मको एउटा आकर्षणका रूपमा हेरिएको छ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन्। रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको फिल्ममा बेकबहादुर विश्वकर्मा र नवीन श्रेष्ठ कार्यकारी निर्माताका रूपमा छन्।
चलचित्रमा संकल्प भुजेलको छायांकन, तारा थापाको सम्पादन तथा बाबुल गिरी र प्रशान्त सिवाकोटीको संगीत रहेको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd