नेपाल चलचित्र संघको नयाँ अध्यक्षमा प्रज्वल शमशेर जबरा निर्वाचित भएका छन्। शनिबार ललितपुरस्थित रोयल टुलिप होटलमा सम्पन्न संघको ५२औँ साधारण सभाले आगामी तीन वर्षका लागि जबराको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। जबरा नयाँ बानेश्वरमा रहेको वान् सिनेमाजका सञ्चालकसमेत हुन्।
अध्यक्ष पदका लागि भएको निर्वाचनमा जबराले गोपालकाजी कायस्थलाई पराजित गरेका हुन्। कुल मतमध्ये जबराले ५३ मत प्राप्त गर्दा कायस्थले ३७ मत मात्रै पाए।
संघको सदस्य पदमा खुलातर्फ आशिष तामाङ, दुर्गालाल प्रधान, मिजास पोखरेल र योगेन्द्र मल्ल ठकुरी निर्विरोध चयन भएका छन्। त्यसैगरी वितरक समूहबाट करण श्रेष्ठ र गोविन्दबहादुर शाही पनि निर्विरोध निर्वाचित भएका हुन्।
प्रदेशगत प्रतिनिधित्वतर्फ कोशी र मधेश प्रदेशबाट चैतन्य बराल चयन भएका छन्। बागमती प्रदेशबाट सुरेन्द्रकुमार थापा र विपश्यना श्रेष्ठ निर्वाचित हुँदा गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने सदस्यमा कर्णालीका डाक्टर सिंह गुरुङ निर्विरोध चुनिएका छन्।
संघको विधानअनुसार अब निर्वाचित सदस्यहरूबीच आपसी सहमतिका आधारमा प्रथम उपाध्यक्षदेखि महासचिवसम्मका पदाधिकारी चयन गरिनेछ।
सन् १९५६ अर्थात् वि.सं. २०१३ सालमा स्थापना भएको नेपाल चलचित्र संघ (नेपाल मोसन पिक्चर्स एसोसिएसन–नेम्पा) नेपाली चलचित्र क्षेत्रको सबैभन्दा पुरानो संस्था हो। चलचित्र प्रदर्शक तथा वितरकहरूको साझा संस्थाका रूपमा रहेको संघले लामो समयदेखि नेपाली फिल्म उद्योगको व्यावसायिक हितका लागि काम गर्दै आएको छ।
संघको पहिलो अध्यक्ष भुवनेश्वर अमात्य थिए। त्यसपछि प्रदीप कुमार उदय, मधुसूदन प्रधान, वीरेन्द्रनारायण श्रेष्ठ र नरेन्द्र महर्जनलगायतले संस्थाको नेतृत्व गरिसकेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd