वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को स्मृतिमा स्थापना गरिएको प्रतिष्ठित ‘छिन्नलता गीत पुरस्कार’ यस वर्ष पाँच स्रष्टालाई प्रदान गरिएको छ । काठमाडौंमा आयोजित ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोह मा सभामुख डोलप्रसाद अर्याल ले विभिन्न विधाका स्रष्टालाई सम्मान गरेका हुन् ।
यस वर्षको ‘छिन्नलता गीत विशेष सम्मान’ वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठ लाई प्रदान गरिएको छ । उक्त सम्मानसँगै उनलाई रु १ लाख नगद पुरस्कार पनि प्रदान गरिएको हो ।
त्यसैगरी, गीत रचनातर्फ डा. नवराज लम्साल, संगीत सिर्जनातर्फ किरण कँडेल र गायनतर्फ विमला राई लाई जनही रु १ लाख राशिको ‘छिन्नलता गीत पुरस्कार’ प्रदान गरियो । उदीयमान प्रतिभाको रूपमा सारिका घिमिरे ले रु ५० हजार राशिसहित ‘छिन्नलता गीत युवा प्रतिभा पुरस्कार’ प्राप्त गरिन् ।
पुरस्कार ग्रहणपछि डा. नवराज लम्साल ले गीतलाई सभ्यताको अभिव्यक्ति र गीतकारलाई त्यसको बीजको संज्ञा दिँदै, आफ्ना सिर्जनालाई संगीत र स्वरमार्फत जीवन्त बनाइदिने संगीतकार तथा गायक–गायिकाप्रति कृतज्ञता व्यक्त गरे ।
कार्यक्रममा गुठीका सचिव तथा साहित्यकार दिनेश अधिकारी ले २०३९ सालदेखि नेपाली गीत–संगीतको विकासमा योगदान पुर्याउने गीतकार, संगीतकार र गायक–गायिकालाई निरन्तर सम्मान गर्दै आएको जानकारी दिए । गुठीका अनुसार हालसम्म ४० गीतकार, ३९ संगीतकार, ४१ गायक–गायिका र ४१ युवा प्रतिभा यस पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
वरिष्ठ गीतकार रमोलादेवी शाह ‘छिन्नलता’ को १०४औँ जन्मजयन्ती को अवसरमा आयोजित समारोहमा गुठीका उत्तराधिकारी आदिदेवदत्त सिंह ले कविता वाचन गरेका थिए भने सम्मानित कलाकार विमला राई र सारिका घिमिरे ले सांगीतिक प्रस्तुति दिएका थिए । यसअघि नारायणगोपाल गुरुवाचार्य, नातिकाजी श्रेष्ठ, तारादेवी, अम्बर गुरुङ, गोपाल योञ्जन, भक्तराज आचार्य, कृष्णहरि बराल, दिनेश अधिकारी र वसन्त चौधरी लगायतका विशिष्ट स्रष्टा पनि यही पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd