मिस नेपाल–२०२६ को नयाँ विजेताका रूपमा दीपमाला ढकाल चयन भएकी छन् । ललितपुरको पुल्चोकस्थित द प्लाजामा सम्पन्न ग्रान्ड फिनालेमा ढकालले मिस नेपाल वर्ल्ड–२०२६ को ताज पहिरिएकी हुन् ।
इप्रतियोगितामा आर्या निशांतले मिस नेपाल इन्टरनेशनलको उपाधि हात पार्दा कशिश सुब्बा मिस नेपाल कोस्मो घोषित भएकी छन् । विभिन्न विधाका प्रतिस्पर्धीबीच भएको अन्तिम चरणको प्रतिस्पर्धाबाट तीनै विजेताको घोषणा गरिएको हो । कार्यक्रममा मिस कोस्मो योलिंडा लिंडक्विस्टलगायत व्यक्तित्व निर्णायकका रूपमा सहभागी थिए ।
द हिडन ट्रेजरले आयोजना गरेको यस वर्षको मिस नेपाल प्रतियोगितामा ढकालको परिचय भने सौन्दर्य प्रतियोगितामा मात्रै सीमित छैन । उनी मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ समेत हुन् । विश्वकै चर्चित लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरकमा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत रहेको जनाइएको छ ।
ढकाल तेक्वान्दोकी ब्ल्याक बेल्ट खेलाडी हुनुका साथै रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक तथा म्याराथन धाविकासमेत हुन् । गैरआवासीय नेपाली संघको इतिहासमा सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेको उनको अर्को परिचय पनि छ ।
त्यसैगरी, उनी नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डरसमेत हुन् । मिस वर्ल्डको अन्तर्राष्ट्रिय मञ्चलाई क्यान्सरसम्बन्धी जनचेतना फैलाउने अभियानका रूपमा उपयोग गर्ने उनको लक्ष्य रहेको बताइएको छ ।
ढकालको मिस नेपाल यात्रासँग पारिवारिक सम्बन्धसमेत जोडिएको छ । उनकी आमाले सन् १९९४ मा भएको पहिलो मिस नेपाल प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd