अभिनेता विराज भट्टको निर्देशनमा तयार भएको फिल्म ‘१२ गाउँ २’ को अग्रिम टिकट बुकिङ सुरु भएको छ। प्रदर्शनको मिति नजिकिएसँगै काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा रहेका मल्टिप्लेक्स हलहरूले फिल्मको टिकट बिक्री खुला गरेका हुन्। एक्सन र प्रतिशोधसँगै पारिवारिक सम्बन्ध तथा संघर्षको कथा प्रस्तुत गर्ने फिल्मले प्रारम्भिक चरणमै देशभर १०० भन्दा बढी शो प्राप्त गरेको छ।
फिल्मको प्रदर्शनलाई लिएर दर्शकमाझ उत्सुकता बढिरहेका बेला हलमा पाएको शो संख्यालाई पनि महत्त्वका साथ हेरिएको छ। विशेषगरी विराज भट्ट र उनका छोरा समीर भट्टको पर्दामा देखिने जोडीलाई दर्शकले प्रतीक्षा गरिरहेका छन्।
देशको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारका लागि काठमाडौं उपत्यकामा २३ र मोफसलमा २२ शो उपलब्ध गराएको छ। त्यस्तै, आईएनआईले देशभरका आफ्ना हलमा १६ शो दिएको छ। फ्रेन्ड्स सिनेमाज्ले १०, वान सिनेमाज्ले ८ र बिग मुभिजले ३ शो छुट्याएका छन्।
अन्य मल्टिप्लेक्सले भने आफ्नो प्रदर्शन तालिका सार्वजनिक गर्न बाँकी छ। त्यसैले आगामी दिनमा ‘१२ गाउँ २’ को शो संख्या थप बढ्न सक्ने देखिएको छ।
फिल्मका वितरक गोविन्द शाहीले हलहरूबाट शो उपलब्ध गराउने क्रम जारी रहेको जानकारी दिएका छन्। उनका अनुसार बिहीबार साँझसम्ममा देशभर फिल्मले १५० भन्दा बढी शो पाउने अपेक्षा गरिएको छ।
‘१२ गाउँ २’ ले चलचित्र जाँच समितिबाट पीजी प्रमाणपत्रसमेत प्राप्त गरेको छ। यो प्रमाणपत्रअनुसार १६ वर्षभन्दा कम उमेरका दर्शकले फिल्म हेर्न अभिभावकको साथ लिनुपर्नेछ।
एक्सनलाई प्रमुख आधार बनाइएको फिल्ममा पारिवारिक सम्बन्ध, संघर्ष र प्रतिशोधका घटनालाई समेटिएको छ। फिल्ममा विराज र समीरसँगै अनुपविक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कालु राना, कृशु शाही (काफिया), वर्षा इटनी, खुसी कार्की र पुष्कर भट्टलगायत कलाकारले अभिनय गरेका छन्।
फिल्मको निर्देशन विराज भट्टले गरेका हुन् भने कथा तथा पटकथा सन्तोष सरकारको रहेको छ। महेश पौडेलको छायांकन, बन्दे प्रसादको सम्पादन तथा युग भुसाल र डीपी खनालको संगीत फिल्ममा समावेश छ। रामजी लामिछाने र सियोन श्रेष्ठले नृत्य निर्देशन गरेका छन् भने द्वन्द्व निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका छन्।
अग्रिम टिकट बुकिङ सुरु भएसँगै ‘१२ गाउँ २’ ले प्रदर्शनअघि कस्तो दर्शक प्रतिक्रिया पाउँछ भन्ने चासो बढेको छ। विशेषगरी विराज र समीरको एक्सनप्रधान प्रस्तुति तथा बुबा–छोराको पर्दा उपस्थितिले फिल्मको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd