logo

२०८३ कार्तिक ५ बुधबार

‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

143
SHARES
‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

बसन्त निरौलाको निर्देशनमा निर्माण भएको फिल्म ‘पाँच पाण्डव’को पहिलो ट्रेलर सार्वजनिक गरिएको छ। यसअघि पोस्टरमार्फत मुख्य पात्रहरूको परिचय दिएको निर्माण टिमले नयाँ ट्रेलरमा कथाको केही अंश खुलाउँदै फिल्मप्रति दर्शकको उत्सुकता बढाउने प्रयास गरेको छ।

मल्टिस्टारर फिल्मको ट्रेलरले कथाको मूल विषयलाई संकेत गरे पनि सम्पूर्ण रहस्य भने सार्वजनिक गरेको छैन। ट्रेलरमा युधिष्ठिरको भूमिकामा रहेका हरिवंश आचार्यले आफू स्वर्गबाट आएको बताउँदै भीम, अर्जुन, नकुल र सहदेवको खोजी गरिरहेको देखिन्छ। तर, उनीहरूलाई खोज्नुको उद्देश्य के हो भन्ने कुरा खुलाइएको छैन।

ट्रेलरमा आन्दोलन, दमन, यातना र अपराधजस्ता सामाजिक विषयसँगै आकर्षक युवतीप्रति युधिष्ठिर मोहित भएको दृश्य पनि समेटिएको छ। कुनै उद्देश्य बोकेर अघि बढिरहेका पात्र बीचमै अन्योलमा परेको दृश्यले फिल्मको कथालाई थप रहस्यमयी बनाएको छ।

महाभारतका पाँच पाण्डवको विम्बलाई वर्तमान नेपाली समाजका पात्रहरूसँग जोडेर प्रस्तुत गरिएको फिल्मले समकालीन सामाजिक र राजनीतिक अवस्थामाथि प्रश्न उठाउने संकेत ट्रेलरले गरेको छ। निश्चित लक्ष्य लिएर अघि बढेको नेतृत्व बीच बाटोमै विचलित हुने वा आफ्नो उद्देश्यबाट टाढिने प्रवृत्तिलाई फिल्मले कसरी प्रस्तुत गर्छ भन्ने चासो बढेको छ। यद्यपि, निर्माण पक्षले कथाको व्याख्या औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

फिल्मका पात्रहरू पौराणिक पाँच पाण्डवका रूपमा मात्र सीमित छैनन्, उनीहरू वर्तमान समाजकै प्रतिनिधि पात्रका रूपमा पनि प्रस्तुत भएका छन्। यही शैलीले ‘पाँच पाण्डव’को कथालाई थप कौतुहलपूर्ण बनाएको छ।

यसअघि सार्वजनिक पहिलो पोस्टरमा युधिष्ठिरको भूमिकामा हरिवंश आचार्य, भीममा जितु नेपाल, अर्जुनमा आर्यन सिग्देल, नकुलमा महेश त्रिपाठी र सहदेवमा सुशील सिटौला देखिएका थिए। दोस्रो पोस्टरमार्फत द्रौपदीको परिचय दिइएको थियो। फिल्ममा द्रौपदीको भूमिकामा इभा गिरी रहेकी छन्। सार्वजनिक ट्रेलरमा सरिता गिरी पनि महत्त्वपूर्ण भूमिकामा देखिएकी छन्।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको ‘पाँच पाण्डव’ आगामी कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक निरौलाका अनुसार दर्शकले फिल्ममा डल्बी एटमस साउन्डको अनुभवसमेत लिन पाउनेछन्।

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलाका अतिरिक्त दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेल (रितेशजंग खत्री) लगायत कलाकारको अभिनय छ।

नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मकी निर्माता काली रानी श्रेष्ठ हुन्। नवीनले यसअघि ‘लाज शरणम्’ निर्माण गरेका थिए। फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका छन्। लेखक पौडेलले यसलाई सामाजिक ड्रामा विधाको फिल्मका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई आधार बनाएर समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको छ।

श्याम तामाङको छायांकन रहेको फिल्मलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। द्वन्द्व निर्देशन सम्राट बस्नेतको छ भने गम्भीर विष्ट र विक्रम स्वाँरले कोरियोग्राफी गरेका छन्। फिल्ममा अर्जुन पोखरेलको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन, सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भीएफएक्स रहेको छ। रोहित राज गौतम एचओपी तथा विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजरका रूपमा छन्।

‘पाँच पाण्डव’को देशव्यापी वितरण आरआर फिल्मसले गर्नेछ। रोहित कट्टेल र रत्न श्रेष्ठको नेतृत्वमा रहेको वितरण कम्पनीले फिल्मलाई देशभरका हलमा पुर्‍याउनेछ। सामाजिक विषयवस्तु, परिचित कलाकारको जमघट र पौराणिक विम्बको प्रयोगले ‘पाँच पाण्डव’लाई आगामी प्रदर्शनका लागि प्रतीक्षित फिल्ममध्ये एक बनाएको छ।


बिहिबार, २९ असोज २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go