प्रधानमन्त्री बालेन शाहसँग वर्षौँअघि चर्चित र्याप ब्याटलमा प्रतिस्पर्धा गरेका र्यापर निषेश महर्जन अर्थात् ‘लिटल ग्रिजल’ अहिले कहाँ छन् भन्ने चासो बढेको छ। यमबुद्धको अगुवाइमा सुरु भएको ‘रअबार्ज’ र्याप ब्याटलको सुरुवाती चरणमै बालेन र लिटल ग्रिजल आमनेसामने भएका थिए। त्यतिबेला बालेन र्यापको क्षेत्रमा आफ्नो पहिचान बनाउँदै थिए भने ग्रिजलले बालेनलाई शब्दमार्फत चुनौती दिएका थिए।
त्यो ब्याटलपछि बालेनको यात्रा र्यापबाट राजनीतितर्फ मोडियो। उनी काठमाडौँ महानगरपालिकाको मेयर हुँदै अहिले प्रधानमन्त्री बनेका छन्। अर्कोतर्फ लिटल ग्रिजलले भने आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिए। उनले विभिन्न र्याप गीत तथा एल्बम सार्वजनिक गर्नुका साथै अन्य कलाकारसँग सहकार्य गरेका छन्। ‘खरानी’ नामको सोलो एल्बम, ‘तरिका’ परियोजना तथा ‘हिपहप जात्रा’ सांगीतिक यात्रामा समेत उनले काम गरेका थिए।
ग्रिजलका ‘जात्रा’, ‘लोनली हार्टस्’, ‘लभ स्टोरी फ्रम हेल’, ‘परेवा’ र ‘दास’ लगायतका र्याप गीत सार्वजनिक छन्। उनले पोखरा, धरान, चितवन र काठमाडौँलगायतका स्थानमा सांगीतिक प्रस्तुति पनि दिएका थिए। बालेनसँगको पुरानो ब्याटलपछि उनी संगीतबाट हराएको जस्तो देखिए पनि उनका सामाजिक सञ्जाल तथा सार्वजनिक सिर्जनात्मक गतिविधिले उनी निरन्तर यही क्षेत्रमा सक्रिय रहेको देखाउँछन्।
ग्रिजलले संगीतबाहेक ग्राफिक डिजाइनिङ र फाइन आर्टमा समेत काम गरेका छन्। पछिल्लो समय कम्प्युटर इन्जिनियरिङ, कोडिङ तथा वेबसाइट निर्माणमा समेत उनको रुचि देखिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक विवरणअनुसार उनी सन् २०२५ मा बेलायत पुगेका थिए। बेलायतबाट समेत उनले आफ्नो सिर्जनात्मक गतिविधिलाई निरन्तरता दिएको देखिन्छ।
यसरी कुनै समय एउटै र्याप ब्याटलमा आमनेसामने भएका बालेन र ग्रिजलको यात्रा अहिले फरक दिशामा पुगेको छ। बालेन राजनीतिमा सक्रिय हुँदै देशको कार्यकारी नेतृत्वमा पुगेका छन् भने लिटल ग्रिजल भने संगीत, कला र सिर्जनात्मक काममै आफ्नो पहिचानलाई निरन्तरता दिइरहेका छन्। उनी अहिले पनि हिपहप संगीतसँग जोडिएका गतिविधिमा देखिन्छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd