चलचित्र ‘गौँथली’ले प्रदर्शनको ७५ दिन पूरा गरेको छ। साउन १ गतेबाट हलमा लागेको चलचित्र असोज १५ गते बिहीबारदेखि ७६औँ दिनमा प्रवेश गरेको हो।
प्रदर्शनको ७५ दिनमा चलचित्रले करिब २६ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता सुमन गिरीले जानकारी दिएका छन्। यस अवधिसम्म ‘गौँथली’का ९ लाख ४३ हजार ३३१ टिकट बिक्री भइसकेका छन्।
चलचित्र विकास बोर्डको सिनेपाः विवरणअनुसार असोज ११ गतेसम्म ‘गौँथली’ले २५ करोड ९५ लाख ८४ हजार ६४० रुपैयाँ ग्रस कमाइ गरेको थियो। त्यसपछि पनि चलचित्रको प्रदर्शन निरन्तर रहँदा कलेक्सन २६ करोड रुपैयाँ पुगेको निर्माण पक्षले जनाएको छ।
लामो समयदेखि हलमा टिकिरहेको ‘गौँथली’ नेपाली चलचित्र उद्योगमा सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा दोस्रो स्थानमा पुगेको छ। ‘पूर्ण बहादुरको सारङ्गी’पछि ‘गौँथली’ले नेपाली फिल्ममध्ये दोस्रो ठूलो व्यापार गर्ने चलचित्रको स्थान बनाएको हो।
डा. कपिल रिजालको निर्देशन रहेको चलचित्रमा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय छ।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्रकी कार्यकारी निर्माता सरला रिजाल हुन्। फिल्ममा सुमन गिरी र डा. कपिल रिजाल निर्माता रहेका छन्।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd