अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘क्लासिक एन्ड मिसेस एसिया इन्टरनेसनल २०२६’ थाइल्यान्डमा सुरु भएको छ । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सुमित्रा श्रेष्ठ, कल्पना प्रसाईं र गंगा न्यौपाने राउत उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।
थाइल्यान्डको खोन केनमा आयोजना भइरहेको प्रतियोगितामा सहभागी हुन सामरी इन्टरनेसनल इभेन्ट प्रालिका भरत सामरीको नेतृत्वमा नेपाली टोली त्यहाँ पुगेको हो । टोलीमा ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ की विजेता सुमित्रा श्रेष्ठ (रोजी), प्रथम उपविजेता कल्पना प्रसाईं (कामना) र तृतीय उपविजेता गंगा न्यौपाने राउत (गम्भीर गंगा) सहभागी छन् ।
गत साउनमा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न ‘मिसेस नेपाल इन्टरनेसनल वर्ल्ड २०२६’ मार्फत उनीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका थिए । अब उनीहरूले एसियाली मञ्चमा आफ्नो प्रतिभा, व्यक्तित्व र क्षमता प्रस्तुत गर्नेछन् ।
प्रतियोगितामा नेपालसहित जापान, चीन, हङकङ, भारत, मलेसिया, ताइवान, सिंगापुर र आयोजक थाइल्यान्ड गरी नौ देशका २१ जना प्रतिस्पर्धी सहभागी छन् । अक्टोबर १९ सम्म सञ्चालन हुने प्रतियोगितामा सहभागीहरूले विभिन्न चरणका प्रशिक्षण, व्यक्तित्व विकास, सांस्कृतिक आदानप्रदान तथा प्रतिभा प्रदर्शनसम्बन्धी गतिविधिमा भाग लिनेछन् ।
नेपाली प्रतिस्पर्धीहरूले आफ्नो कला र प्रतिभामार्फत नेपालको मौलिक संस्कृति, परम्परा र पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने अपेक्षा गरिएको छ । विवाहित महिलाको सशक्तीकरण र नेतृत्व विकासलाई प्राथमिकता दिने उद्देश्यसहित आयोजना गरिएको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा अक्टोबर १९ मा हुनेछ ।
तीन नेपाली प्रतिस्पर्धीको सहभागिताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको उपस्थिति थप बलियो बनाउने अपेक्षा गरिएको छ । अब सबैको ध्यान उनीहरूको प्रस्तुति र अन्तिम नतिजातर्फ केन्द्रित भएको छ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd