दसैंको फूलपातीसँगै नेपाली चलचित्र क्षेत्रमा पनि प्रतिस्पर्धा चुलिएको छ । यसपटक लामो दसैं बिदालाई लक्षित गर्दै चारवटा फिल्म प्रदर्शनमा आउने भएका छन् । शुक्रबारदेखि नै हलमा लागेका ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ बीचको व्यावसायिक प्रतिस्पर्धालाई विशेष चासोका साथ हेरिएको छ ।
यस वर्ष शनिबार र आइतबारसहित नौ दिनको लामो बिदा परेकाले फिल्म निर्माताहरूले दसैंलाई प्रदर्शनका लागि उपयुक्त अवसरका रूपमा लिएका छन् । पारिवारिक कथामा आधारित ‘आ बाट आमा २’ र एक्सनप्रधान ‘१२ गाउँ २’ फरक स्वादका चलचित्र हुन् । त्यसैले दुवै फिल्मले आ–आफ्नो लक्षित दर्शकलाई हलसम्म ल्याउने अपेक्षा गरेका छन् ।
प्रदर्शनको पहिलो चरणमै दुवै फिल्मले देशभरका हलमा उल्लेख्य शो पाएका छन् । उपलब्ध शो संख्याअनुसार ‘आ बाट आमा २’ अगाडि देखिएको छ । यसले देशभर १८१ शो पाउँदा ‘१२ गाउँ २’को भागमा १५४ शो परेका छन् । यद्यपि, अग्रिम टिकट बुकिङको अवस्था भने दुवै फिल्मका लागि उत्साहजनक देखिएको छैन । केही शोमा टिकट बिक्री राम्रो भए पनि समग्र बुकिङ औसत रहेको छ ।
चन्द्र पन्तको लेखन तथा निर्देशनमा बनेको ‘आ बाट आमा २’ले आमा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई कथाको केन्द्रमा राखेको छ । फिल्ममा विपना थापा, स्वर्गीय प्रदीप रावत, पल शाह, साइग्रेस पोखरेल, आकाश श्रेष्ठ, मलिका महत, निकिता आचार्य, रिश्ता गुरुङ, सविन श्रेष्ठ, गजित विष्ट, नरेन खड्कालगायत कलाकारको अभिनय छ ।
त्यस्तै, विराज भट्टको लेखन तथा निर्देशनमा बनेको ‘१२ गाउँ २’ बदलाको कथामा आधारित एक्सन फिल्म हो । यसमा विराज भट्ट, समीर भट्ट, अनुपविक्रम शाही, कृशु शाही, खुशी कार्की, वर्षा इटानी, प्रकाश शाह र सुनील पोखरेललगायत कलाकार देखिएका छन् । सरस्वती भट्टले निर्माण गरेको यस फिल्मको पहिलो भागले बक्स अफिसमा झन्डै २० करोड रुपैयाँको व्यापार गरेको थियो ।
दुवै फिल्म सिक्वेल भएकाले दर्शकमाझ पहिले नै केही परिचित छन् । अब लामो बिदाको फाइदा उठाउँदै दर्शकको साथ कसले बढी पाउँछ भन्ने कुरा आगामी दिनको दर्शक उपस्थिति, मौखिक प्रचार र बक्स अफिसको नतिजाले तय गर्नेछ । शो संख्यामा अगाडि देखिएको ‘आ बाट आमा २’ले त्यसलाई कमाइमा पनि रूपान्तरण गर्न सक्छ वा पहिलो भागको सफलताको विरासत बोकेको ‘१२ गाउँ २’ले बाजी मार्छ, त्यसका लागि भने केही दिन कुर्नुपर्नेछ ।
© 2026: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd