लामो समय देखि आफ्ने सम्वन्धलाइ मिडिया र फ्यानहरु माझ लुकाउन लुकाउन सफल गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले यूएईको दुबई पुगेर इन्गेजमेन्ट गरेका हुन् । उनीहरु लामो समयदेखि प्रेमसम्बन्धमा रहेको चर्चा थियो ।
अस्मिताले सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै आफूहरुले जीवनको सहयात्रा सुरु गरेको जानकारी दिएकी छन् । सामाजिक सञ्जालमा उनले ‘दुई आत्मा, एक मुटु, सधैं सँगै,’ लेखेकी छन् । तस्वीरमा बुर्ज खलिफा अगाडि महेशले अस्मितालाई इन्गेजमेन्ट औंठी लगाइदिंदै गरेको देखिन्छ । तस्वीरमा उनीहरु रोमान्टिक मुद्रामा छन् ।
अस्मिता पछिल्लो समयकी व्यस्त गायिका हुन् भने महेश पनि व्यस्त गायक हुन हुन् ।
लामो समयदेखि उनीहरुबीच प्रेम सम्बन्धको गाईंगुईं चल्दै आएतापनि दुवैले सार्वजनिक स्वीकारोक्ति गरेका थिएनन् । आफूहरु यसै वर्षभित्र बिहेको तयारीमा रहेको पनि उनले जानकारी दिइन् । अस्मिताका अनुसार बिहे पनि तडकभडक बेगर नेपाली परम्पराअनुसार हुनेछ ।
महेश र अस्मिता करिब साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुको अफेयरबारे केही गसिपहरु बने पनि दुवैले सार्वजनिकरुपमा स्वीकार गरेका थिएनन् । सिन्धुलीका महेश र झापाली चेली अस्मिता दुवै अहिलेका सफल गायक–गायिकामा पर्छन् ।
बाल्यकालमै गाएको ‘सानीमा मार्देउ बरु बगाइदेउ पानीमा‘’ बोलको गीतबाट महेश संगीत क्षेत्रमा आफूलार्ई चिनाएका थिए । उनले गाएकामध्ये ‘हावा चल्यो सिरिरि, नाच फिरिरि‘’, ‘माया बिरानी..’ सर्वाधिक हिट छन् ।
यसैगरि, अस्मिता रियालिटी शो नेपाल आइडलबाट उदाएकी हुन् । नेपाल आइडलको दोस्रो संस्करणमा उनी टप ४ सम्म पुगेकी थिइन् ।
अहिलेसम्म दर्जनौं सुपरहिट गीत दिइसकेकी छन् । जसमध्ये ‘टाढा भए पनि‘’ बोलको गीत सर्वाधिक हिट छ । उनी एक रजिस्टर्ड नर्स समेत हुन् । महेश र अस्मिताले एकसाथ पनि थुप्रै गीत गाएका छन् । जसमध्ये ‘लजावती झारजस्तै लजाउँछौं’ बोलको गीत लोकप्रिय छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd