बोक्सी कुप्रथाविरुद्धको फिल्म ‘अग्निदहन’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘दाई दाई नभन मलाई’ बोलको लोक लयको गीतमा पार्वती जिसी र तुलसी क्षेत्रीको स्वर छ । गितमा परशुराम अधिकारीको संगीत तथा लोकमणि पौडेलको शब्द रहेको छ । गीतको भिडियोलाई महिलाहरु रत्यौलीमा रमाइलो गरेको विवाह परीवेशमा तयार गरिएको छ । धर्मेन्द्र पौडेलले कोरियोग्राफी रहेको भिडियोमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, रमा त्रिपाठी, सनिशा भट्टराई, तुलसी क्षेत्री, सरला कुमारी पाण्डे लगायत नृत्य गर्दै प्रस्तुत छन् । यसमा रत्यौली खेल्दा छोरी मान्छे केटाको भेषमा नाच्ने प्रचलनलाई पनि देखाइएको छ, जसलाई ‘लुठो’ भनिन्छ । भिडियोमा रमा त्रिपाठी दौरा सुरुवाल, स्टकोट र ढाका टोपी लगाएर ‘लुठो’ बनेकी छन् ।
लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’मा आधारित भएर बनेको फिल्ममा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु वास्तोला, ताराबहादुर गुरुङ लगायतको अभिनय छ । आगामी मंसिर ७ गतेबाट प्रदर्शन हुन लागेको फिल्मलाई मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले निर्माण गरेको हो ।
फिल्मलाई घनश्याम लामिछानले निर्देशन गरेका हुन् । मान्छे बोक्सी हुँदैन भन्ने सोचलाई अभियानको रुपमा अगाडि बढाउन फिल्म बनाएको उनको दावी छ । फिल्मलाई मैथिली र भोजपुरी भाषामा समेत डबिङ गरिएको छ । फिल्ममा लोकमणि पौडेलको कथा, पटकथा र संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, दीर्घ गुरुङको छायांकन तथा दीर्घ खड्काको सम्पादन रहेको छ ।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd