logo

२०८२ माघ २५ शनिबार

logo
  • शनिबार, २५ माघ २०८२
  • ‘पूर्णबहादुरको सारंगी’ हलबाट उत्रिन मानिरहेको छैन भने ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ पनि हलहरूमा राम्रै हिस्सामा

    ‘पूर्णबहादुरको सारंगी’ हलबाट उत्रिन मानिरहेको छैन भने ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ पनि हलहरूमा राम्रै हिस्सामा

    1.7K
    SHARES
    ‘पूर्णबहादुरको सारंगी’ हलबाट उत्रिन मानिरहेको छैन भने  ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ पनि हलहरूमा राम्रै हिस्सामा

    नेपाली बक्स अफिसमा अहिले तीन चलचित्रको रसाकस्सी छ । तिहार अगाडि नै रिलिज भएको ‘पूर्णबहादुरको सारंगी’ हलबाट उत्रिन मानिरहेको छैन भने त्यसपछि आएका ‘ह्रस्व दीर्घ’ र ‘तेल भिसा’ पनि हलहरूमा राम्रै हिस्सा ओगटिरहेका छन् ।
    ‘पूर्णबहादुरको सारंगी’
    सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको २४ दिनसम्म देशब्यापी ४३ करोड ४० लाख रुपैयाँ ग्रस कमाएको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले पछिल्लो शनिबारसम्मको कमाइ सार्वजनिक गरेको हो ।
    शनिबार १ करोड ८० लाख ग्रस कमाउँदा शुक्रबार ९० लाख र विहिबार ९६ लाख ग्रस कलेक्सन गरेको छ । प्रदर्शनको २१ दिन बुधबारसम्म फिल्मको कमाइ ३९ करोड ७४ लाख थियो ।चौंथो सातामा पनि फिल्मले आकर्षक कमाइलाई जारी राखेको छ । अकुपेन्सी र शोमा गिरावट आएपनि चौंथो सातामा पनि विजय बराल स्टारर फिल्म घरेलु बक्स अफिसको शीर्षस्थानमा छ । अहिले पनि काठमाडौं, पोखरा, चितवन लगायत ठूला सहरका केही मल्टिप्लेक्सको अकुपेन्सी शतप्रतिशत देखिन्छ ।
    शुक्रबार प्रदर्शनमा आएका नयाँ फिल्मको ओपनिङ अपेक्षित हुन नसक्दा यसको फाइदा ‘पूर्णबहादुरको सारंगी’लाई पुग्ने देखिन्छ । बलियो ‘वर्ड अफ माउथ’ अझै कायम रहेकाले यो सातामा पनि फिल्मको अकुपेन्सी सुखद देखिने वितरक मनोज राठी बताउँछन् । यो फिल्मलाई सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गरेको हो ।
    सरोज पौडेलको कथा तथा निर्देशनमा बनेको फिल्ममा विजय र प्रकाशसहित अन्जना बराइली, मुकुन भुसाल, माओत्से गुरुङ, विनोद न्यौपाने, शंकर आचार्य, बुद्धि तामाङ, देशभक्त खनाल, भोलाराज सापकोटा, अलिसा बास्तोला, श्याम केसी, सरिता शाह लगायतको अभिनय छ।

    ‘तेल भिसा’
    गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘तेल भिसा’को सुरुवाती व्यापार अपेक्षित हुन सकेन । पहिलो दिन नै देशभर अकुपेन्सी कमजोर रह्यो । शनिबार व्यापारमा केही सुधार देखिए पनि त्यो उत्साहप्रद थिएन । आइतबार फिल्मको अकुपेन्सी दरमा झनै गिरावट देखियो । तर, सुरुवाती व्यापार अपेक्षित नभए पनि सकारात्मक ‘वर्ड अफ माउथ’को प्रभाव विस्तारै देखिन थालेको छ ।
    सोमबारदेखि फिल्मलाई प्राप्त शोमा अकुपेन्सी बढेको छ । बुधबार फिल्मको व्यापारमा सुधार भएको देखिन्छ । काठमाडौंका एफक्युब, बिग मुभिज, वान सिनेमाज्, सिके सिनेमाज्, क्यूएफएक्सको भाटभटेनी, लबिम, आईएनआइको एनवी सेन्टर, मिडटाउन (पोखरा), सिनेरोयल (नेपालगञ्ज) जस्ता हलमा दिउँसोदेखि साँझसम्मका शोमा बुकिङको अवस्था राम्रो देखिएको छ ।
    तर, सुरुवाती व्यापार बलियो नहुँदा फिल्मले धेरै शो गुमाइसकेको छ । अब बाँकी शोलाई जोगाएर राख्नुपर्ने चुनौती फिल्मलाई छ । ‘वर्ड अफ माउथ’को प्रभावले विस्तारै दर्शक बढ्न थालेपछि निर्माण टिममा पनि आशा जाग्न थालेको छ । अर्को साता ठूलो स्वदेशी र विदेशी फिल्म नभएकाले ‘तेल भिसा’लाई व्यापारिक रफ्तार बढाउन चुनौती भने देखिँदैन ।
    प्रदर्शनको दिनदेखि फिल्मका शीर्ष अभिनेता विपिन कार्कीले काठमाडौंका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् । र, दर्शकबाट प्राप्त प्रतिक्रियाले उनी उत्साहित देखिन्छन् । फिल्ममा उनी बाबु र छोराको भूमिकामा प्रस्तुत छन् । यसकारण पनि उनका लागि ‘तेल भिसा’ निकै विशेष थियो । उनलाई छोराभन्दा बुबाको भूमिकामा दर्शकले बढी रुचाएका छन् ।
    फिल्मबाट सबैभन्दा बढी वाहवाही भने अभिनेत्री पूजा चन्दको भइरहेको छ । उनले आमाको भूमिकामा उम्दा अभिनय गरेकी छन् । हलमा दर्शकलाई बाँधिराख्ने नै उनको अभिनयले हो । अर्की अभिनेत्री ऋचा घिमिरे पनि फिल्ममा प्रभावशाली देखिएकी छन् । छोराको सन्तान हुन लागेपछि नेपालबाट अमेरिका गएकी एक आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा फिल्मले उठाएको छ ।

    ह्रस्वदीर्घ
    यी तीनमध्ये सबैभन्दा महंगो बजेटको चलचित्र हो ह्रस्वदीर्घ । यो चलचित्र करिब ६ करोड लगानीमा बनेको निर्माण पक्षको दावी छ । यति ठूलो लगानी रिकभर गर्न चलचित्रले बक्स अफिसमा लामै यात्रा गर्नुपर्ने हुन्छ । तर, निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाले केही दिनअघि स्टाटस लेख्दै चलचित्रको लगानी सुरक्षित भइसकेको दावी गरिन् । धेरैले उनको दाबीलाई पत्यार गर्न नसकिरहेका बेला नीताले थप अगाडि बढेर आफ्नो चलचित्रले २१ करोड रूपैयाँ कमाउने आँकलन सार्वजनिकरूपमै गरेकी छन् ।
    चलचित्रले नेपालमा रिलिजको ९ दिनसम्ममा ६ करोड ६९ लाख ग्रस कलेक्सन गरेको छ ।चन्द्र पन्त निर्देशित फिल्म ‘ह्रस्व दीर्घ’ले घरेलु बक्स अफिसमा सुखद् कमाइ गरेको यो व्यापारबाट देख्न सकिन्छ । यदि त्यो रिपोर्ट यथार्थ हो भने पनि निर्माताको गोजीमा करिब तीन करोड मात्रै आउन सक्छ । नीताको दावीअनुसार भारतमा ओटिटीबाट चलचित्रले ३ करोड भारु कमाएको छ, जसको नेपाली रकम हुन आउँछ ४ करोड ८० लाखभन्दा बढी । चलचित्रको डिजिटल राइट्स ओएसआर डिजिटललाई ६० लाखमा बेचेको उनले बताइन् । ओभरसिज राईट्सबारे भने आफूलाई ठ्याक्कै याद नभएको उनी बताउँछिन् । फिल्मले यो साता पनि राम्रो व्यापार गर्ने अवसर रहेको छ । । हरिहर अधिकारीको कथा रहेको फिल्ममा प्रतिक पौडेल, निर्देशक चन्द्र पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको ‘ह्रस्व दीर्घ’को निर्मात्री नीता ढुंगाना हुन भने कार्यकारी निर्मातामा धनन्जय गलानी रहेका छन् । फिल्ममा भारतीय कलाकार ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मासहित नेपाली कलाकार प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीको पनि अभिनय छ । यो फिल्म तेलुगु र हिन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।


    आइतबार, १६ मंसिर २०८१
    सम्बन्धित समाचार
    Go