logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘घर बट् इन अमेरिका’को प्रचारात्मक गीत सार्वजनिक

    ‘घर बट् इन अमेरिका’को प्रचारात्मक गीत सार्वजनिक

    221
    SHARES
    ‘घर बट् इन अमेरिका’को प्रचारात्मक गीत सार्वजनिक

    अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’को प्रचारात्मक गीत सार्वजनिक गरिएको छ । सिरिजको पहिलो सिजनको लागि तयार पारिएको विशेष गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको हो । यो गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्दछ ।



    निशान भट्टराईको स्वर, अर्जुन कटुवालको सङ्गीत र डिपी खनालको शब्द रहेको यो गीतमा प्रज्ज्वल खनालले पनि शब्द रचनामा सहयोग गरेका छन् । गीतको भिडियोमा सिरिजका प्रमुख कलाकारहरूलाई देख्न सकिन्छ ।

    सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ । सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भएको यो सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतारचढावलाई रोचक ढङ्गले प्रस्तुत गर्ने निर्देशक तथा प्रमुख कलाकार बिमलेश अधिकारीले बताए ।

    नेपाली चलचित्रकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्दै यस सिरिजमा मुख्य भूमिका निभाएकी छन् । अरुणिमा र बिमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारहरूले पनि सिरिजमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

    निर्देशक अधिकारीकै अवधारणामा बनेको यस सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका छन् । सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको हो । सेभेन कलर्स डिजिटलले यस सिरिजको निर्माण गरेको हो ।

    ओटीटी प्लेटफर्ममार्फत् सार्वजनिक हुने तयारीमा रहेको यो सिरिजले नेपाली दर्शकहरूलाई गजबको मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।


    सोमबार, २४ मंसिर २०८१
    सम्बन्धित समाचार
    Go