logo

२०८३ जेष्ठ ३ आइतबार

logo
  • आइतबार, ३ जेष्ठ २०८३
  • ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक

    ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक

    1.9K
    SHARES
    ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक

    नेपाली चलचित्र ‘सोल्टिनी’ को छायाङ्कन सुरु हुनु अगाडि यसको पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको घोषणासँगै एक छोटो भिडियोमार्फत यसको कथा र विषयवस्तुबारे प्रारम्भिक जानकारी दिइएको थियो । हाल पोस्टर सार्वजनिक गर्दै निर्देशक अर्जुन सुवेदीले चलचित्रको छायाङ्कन प्रक्रिया छिट्टै सुरु हुने सङ्केत गरेका छन् ।

    पोस्टरमा अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बुलाई प्रेम र वियोगको भावमा प्रस्तुत गरिएको छ । सपूतले ‘भीमसेन पोखरेल’ र लिम्बुले ‘दिलासा राई’ को भूमिका निभाउनेछन् । यो जोडी पहिलो पटक एकसाथ पर्दामा देखिन लागेकोले दर्शकहरूमा विशेष चासो उत्पन्न भएको छ । पोस्टरको डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन् ।

    भोजपुरको सुन्दर प्राकृतिक परिवेशमा छायाङ्कन हुने ‘सोल्टिनी’ ले समाजमा व्याप्त जातीय भेदभाव र अमानवीयताका विरुद्ध आवाज उठाउनेछ । साथै, मुख्य पात्रहरू बीचको प्रेमकथाले चलचित्रलाई थप रोचक बनाउने निर्देशक सुवेदीले बताए ।

    चलचित्रमा प्रकाश सपूत र परीक्षा लिम्बुसँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, र सुजन खतिवडाको अभिनय रहनेछ । चलचित्रको सङ्गीत प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतले दिएका छन् भने छायाङ्कन सुशन प्रजापतिले गर्नेछन् । चलचित्रका लेखक अर्जुन सुवेदी र कुमार भट्टराई हुन् ।

    प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुने यो चलचित्रका निर्माताहरू रेजिना बिस्ट र संसार चौलागाईँ हुन् । चलचित्रको नेपाल वितरण आरआर फिल्मस् प्रा.लि. र विदेशी वितरण नेपसिनेले गर्नेछन् । डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ ।

    यही पुसको अन्त्यतिर छायाङ्कन सुरु हुने ‘सोल्टिनी’ लाई २०८२ साल असोज ३ गते, संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।


    आइतबार, १४ पुष २०८१
    सम्बन्धित समाचार
    Go