टेलिभिजनबाट ठूलो पर्दामा प्रवेश गरेका अभिनेता सागर लम्साल ‘बले’ अब आफ्नै होम प्रोडक्सनमार्फत फिल्म निर्माणमा जुट्ने भएका छन्।
सागरको फिल्म आगामी वैशाखपछि छायाङ्कनमा जाने तयारीमा रहेको छ। फिल्मको नाम र कलाकार टिमबारे भने केही समयपछि जानकारी दिइने बताइएको छ।
फिल्म निर्माणमा हात हाल्नुको कारण खुलाउँदै अभिनेता सागर लम्साल ‘बले’ले भने,“सिरियलमा काम गरियो, म्युजिक भिडियोमा गरियो, अनि फिल्ममा पनि काम गरियो — सबै खाले अनुभव भयो। अनि कति लगानीमा राम्रो फिल्म बनाउन सकिन्छ भन्ने ज्ञान पनि भयो। यही अनुभवका आधारमा आफ्नै प्रोडक्सनबाट फिल्म निर्माण गर्ने तयारी गरेको हुँ।”
बलेले यसलाई फरक धारको फिल्म बनाउन आफू लागेको बताएका छन्।
हाल फिल्मको स्क्रिप्ट लेखन र प्रि–प्रोडक्सनका कामहरू भइरहेको छन्।
पछिल्लो समय सागरको नेपाली फिल्म क्षेत्रमा व्यस्तता निकै बढेको छ। हाल उनी ‘डल्लेले इन्ट्री मार्यो’ फिल्मको छायाङ्कनमा व्यस्त छन्।
उक्त फिल्मको सुटिङ सकिएलगत्तै उनी ‘पाँच पाण्डव’ फिल्मको सेटमा जोडिने तयारीमा छन्। ‘पाँच पाण्डव’पछि पनि उनी दुई अन्य फिल्ममा अनुबन्धित भइसकेका छन्।
सागर लम्साल हास्य टेलिसिरियल ‘भद्रगोल’मा निर्वाह गरेको ‘बले’ पात्रबाट प्रसिद्ध भएका हुन्। पछिल्लो समय उनी ‘सक्किगोनी’ हास्य टेलिश्रृंखलामा पनि सोही पात्रको रूपमा देखिएका थिए।
त्यसका साथै उनी फिल्म र सयौँ म्युजिक भिडियोहरूमा समेत सक्रिय रूपमा देखिँदै आएका छन्।
© 2025: Kollywood Khabar मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd